पार्टीभित्रको विवाद समाधानको लागि अध्यक्षद्वय छलफलमा

admin

काठमाडौं, १९ असार : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्रको विवाद समाधानको लागि छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच बालुवाटारमा छलफल भइरहेको हो । शुक्रबार एक दिन स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्षबीच कुराकानी गर्ने बिहीबारको निर्णय अनुसार दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।

पार्टीभित्र गम्भीर विवाद उत्पन्न भएपछि नेकपाका अरु नेताहरु पनि बिहानैदेखि छलफलमा छन् । दोस्रो तहका नेताहरुले जसरी पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको माग उठेपछि नेकपाभित्र विवाद बढेको हो । ओलीले पार्टी र सरकारको नेतृत्वबाट राजीनामा दिनैपर्ने दाहाल र नेपाल समूहको अडान र राजीनामा दिन नहुने ओली समूहको अडानले नेकपाको स्थायी कमिटी बैठकसमेत प्रभावित भएको छ ।

बिहीबारको बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएको बताएका छन् । पार्टीमा देखिएको सङ्कट समाधान गर्ने उद्देश्यले स्थायी कमिटीको अर्को बैठक भोलि बस्ने र यसबीचमा अध्यक्षद्वय ओली र दाहालका साथै सचिवालयका नेताहरूका बीचमा छलफल गरेर समाधानको उपाय खोजिने श्रेष्ठले बताए ।

प्रतिक्रिया