पार्टीभित्रैबाट सरकारलाई घेराबन्दीमा पारेर काम गर्न दिएनन् : उर्जामन्त्री रायमाझी

अस्मिता बेल्बासे

अर्घाखाँची, २६ पुस : नेकपा स्थायी कमिटी सदस्य तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्रैबाट सरकारलाई घेराबन्दीमा पारेर काम गर्न नदिएको टिप्पणी गरेका छन । अर्घाखाँचीको मालारानीमा नेकपाको ओली समूहले गरेको गाउँपालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले मरेको मान्छे बिउँझन्छ भन्नु र प्रतिनिधिसभा पुनः स्थापना हुन्छ भन्नु एकै भएको टिप्पणी गरेसँगै प्रतिनिधिसभा पुनःस्थापना अब केवल दिवास्वप्ना मात्र हुने दाबी पनि गरेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर सडक पुर्‍याउने उद्देश्यले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले डिजाइन गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई असफल पारेको उनको भनाइ थियो ।

ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टीभित्रैबाट सरकारलाई घेराबन्दीमा पारेर काम गर्न नदिएको भन्दै उनले विभिन्न कठिनाइ र अवरोधकाबीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको दाबी गरे । प्रचण्ड-नेपाल समूहले एकताको मर्म विपरीत पार्टीभित्र चरम गुटबन्दी गरी पार्टी विभाजनको अवस्थामा पुर्‍याएको आरोप लगाउँदै उनले पार्टी एकता विरोधीलाई कार्यकर्ता र नागरिकले बहिष्कार गर्ने पनि उनले बताए ।

रायमाझीले प्रचण्ड-नेपाल समूहले बाह्य शक्तिको इशारामा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट हटाएर देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाए । ३३ वर्षसम्म प्रचण्ड आफैं टीको लगाएर पार्टी अध्यक्ष बनेको भन्दै उनले पार्टीलाई खल्तीको पैसा जस्तो सम्झने प्रचण्डले नेकपालाई पनि आफ्नो कठपुतली बनाउन षड्यन्त्र गरेको आरोप लगाए ।

प्रतिक्रिया