पाल्पामा ४८ विद्यार्थी एसइई दिनबाट वञ्चित

राष्ट्रिय समाचार समिति

रामपुर, १ चैत : चैत ६ गतेबाट १७ गतेसम्म हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन् । परीक्षा आवेदन फाराम भरे पनि विविध कारणले ती विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन् ।

परीक्षामा पाल्पाबाट पाँच हजार ६८ विद्यार्थी सहभागी हँुदैछन् । नियमिततर्फ चार हजार ८९६ र ग्रेडवृद्धितर्फ २१६ विद्यार्थी परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाका प्रमुख रमेशराज पौडेलले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका सबै स्थानीय तहमा २५ परीक्षा केन्द्र तोकिएको छ । तानसेन नगरपालिकामा जनता, पद्यमा पब्लिक, महेन्द्रबोधी, सेन, मोहनकन्या, न्यु होराइजन बोर्डिङ, दमकडा, शारदा र त्रिभुवन मावि छन् । रामपुर नगरपालिकामा दरैठाँटी, रामतुलसी र जनविकास माविमा परीक्षा केन्द्र तोकिएको छ । निस्दी गाउँपालिकामा जनता, पूर्वखोला गाउँपालिकामा उद्बुद्ध, रम्भा गाउँपालिकामा रम्भा र जनकल्याण, बगनासकाली गाउँपालिकामा विष्णु, दर्लमडाँडा, चन्द्र माविमा परीक्षा केन्द्र परेका छन् ।

माथागढी गाउँपालिकामा किसान र शौभाग्य, रिब्दीकोट गाउँपालिकामा भवानी र भैरव जनता, रैनादेवी छहरा गाउँपालिकामा महाकाली र भैरव नवदीप मावि परीक्षा केन्द्र तोकिएको छ । जिल्लाभरमा प्रत्येक परीक्षा केन्द्रमा एक-एक परीक्षा केन्द्राध्यक्ष र दुई÷दुई सहायक केन्द्राध्यक्ष खटाइनेछ ।

प्रत्येक केन्द्रमा १५ सुरक्षाकर्मी परिचालन गरिने छ । सबै स्थानीय तहमा उत्तरपुस्तिका पुगिसकेको छ । चैत ६ गतेदेखि १७ गतेसम्म परीक्षा सञ्चालन हँुदैछ । पहिलो दिन चैत ६ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुँदैछ ।

प्रतिक्रिया