पुटिन र ट्रम्पको शिखर बैठक अर्को वर्ष गर्ने तयारी

admin

मस्को, ७ कात्तिक : रुसका राष्ट्रपति भ्लादिमिरि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को वर्ष शिखर बैठक गर्ने तयारी भएको छ । रुसको राष्ट्रपति कार्यालयका अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार अमेरिकाको वासिङटनमा शिखर बैठक गर्ने गरी तयारी भएको हो । “म निर्धक्क भन्न सक्छु कि त्यसका लागि हामी तयार छौं,” रुसको राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले पत्रकारहरूसँग भन्नुभयो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिका र रुसबीच शिखर बैठक हुने सम्भावना रहेको बताएको केही समयपछि पेस्कोभको यस्तो भनाइ आएको हो । उहाँले यो विषय छलफलका लागि अझ बढ्दै जाने र अहिलेसम्म कुनै ठोस निर्णय भइनसकेको पनि स्पष्ट पार्नुभयो ।

तर सम्भावित शिखर बैठकका लागि रुसका तर्फबाट भने तयारी भइरहेको प्रवक्ता पेस्कोभले जानकारी दिनुभयो । अमेरिकी सुरक्षा सल्लाहकार बोल्टन गत आइतबार मस्को आउनु भएको थियो । उहाँले रुस भ्रमणका क्रममा राष्ट्रपति पुटिन र अरू रुसी उच्च अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो । भ्रमण र भेटवार्तापछिको एउटा पत्रकार सम्मेलनमा सुरक्षा सल्लाहकार बोल्टनले पुटिनलाई भेट्ने ट्रम्पको चाहना रहेको बताउनु भएको थियो ।
-रासस÷एएफपी

प्रतिक्रिया