पुनःश्रम स्वीकृति आजदेखि खुल्यो

अस्मिता बेल्बासे

काठमाडौं, १८ असार : झण्डै चार महिनापछि पुनः श्रम स्वीकृति खुला गरिएको छ । कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति बिहीबारदेखि खुल्ला गरिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिएका छन् ।

भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट बिहीबारदेखि नै नेपालीको श्रम गन्तव्य देशमा पुनः श्रम स्वीकृति दिन थालिएको प्रमुख बस्नेतले बताए । श्रम स्वीकृति खुले पनि नयाँको बारेमा भने जानकारी नभएको उनले बताए ।

पुनः श्रम स्वीकृति भने सरकारले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि दिनेछ । तर अहिले कार्यालयमा पुनः श्रम स्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए ।

त्यही अनुसार कार्यालयले तयारी पनि गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने निर्णय गरेसँगै श्रम स्वीकृतिको बाटो खुलेको हो ।

बैठकले श्रम मन्त्रालयको सिफारिसमा नयाँ रोजगारी खुल्ला गर्ने निर्णयसमेत गरेको छ । पुनः श्रम स्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द छ । कतिपय देशले अझै यात्रु प्रवेशमा रोक लगाएका छन् ।

प्रतिक्रिया