पुरातत्त्व विभागप्रति आक्रोशित, नागरिकलाई एकआपसमा लडाउन खोज्यो : मेयर शाक्य

admin

काठमाडौं, १६ फागुन : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पुरातत्त्व विभागप्रति आक्रोशित भएका छन् । आइतबार सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रबलीकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्त्व विभागका कारण सम्पदाहरूको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताएका हुन् ।

कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्त्व विभागकै कारण विवाद उत्पन्न भएको मेयर शाक्यले बताए । अहिले पुरातत्त्व विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न खोजेको र नागरिकलाई एकआपसमा लडाउन खोजेको आरोप पनि मेयर शाक्यले लगाए ।

उनले भने, ‘पुरातत्त्व विभाग त्यहाँको वातावरण हेरेर अगाडि बढ भन्छ । पुरातत्त्व विभागले त्यहाँको वातावरण हेर्ने काम हो ? के लडाउने काम हो ? त्यसकारण पुरातत्त्व विभागलाई त्यस्तो किसिमले छाडा रूपमा छोड्न सकिन्न । नागरिक-नागरिकबीचमा लडाएर अगाडि बढ्न खोज्यो भने पुरातत्त्व विभागलाई कानुनको दायराभित्र हामी ल्याउँछौँ ।’

मेयर शाक्यले पुरातत्त्व विभागले यहीअनुसार काम गर्दै गए कारबाही गर्ने चेतावनीसमेत दिए । महानगरभित्र रहेका कतिपय सम्पदाहरू पुरातत्त्व विभागकै कारण पुनर्निर्माण हुन नसकेको तर त्यसको अपजस महानगरले लिनुपर्ने अवस्था आएको पनि उनले बताए ।

हनुमानढोकाभित्र रहेका सतलहरूमा पुरातत्त्व विभागले होटल सञ्चालन गर्न भाडामा लगाइरहेको बताउँदै मेयर शाक्यले तत्काल खाली गराउन विभागलाई पत्राचार गरिसकेको बताए । सबै पसल र होटल नहटाए स्थानीय र नगरपालिका मिलेर आवश्यक कारबाही गर्ने चेतावनी पनि उनले दिए ।

उनले भने, ‘काठमाडौं महानगरपालिका मौलिक संस्कृति, मौलिक सम्पदालाई मौलिक रूपमा कायम गर्न चाहन्छौँ । हामीले पुरातत्त्व विभागलाई पत्र पनि लेखिसकेका छौँ । हनुमानढोकाभित्र जुन–जुन सतलहरू थियो, ती सतलबाट पुरातत्त्व विभागले व्यापार गरेर खाइरहेको छ । ती पसल बन्द गर भनेर पत्राचार गरिसकेका छौँ । पुरातत्त्व विभागले व्यापार गरेर पैसा कमाउने होइन, सतल खुला नै हुनुपर्छ, बटुवामैत्री हुनुपर्छ भन्ने काठमाडौं महानगरपालिकाको धारणा हो । हामीले पत्राचार गरिसकेका छौँ, पुरातत्वले कस्तो व्यवहार गर्छ हेर्न बाँकी छ । अरू सबैलाई सिकाएर हिँड्ने पुरातत्त्व विभाग आफै होटल राखेर व्यापार गरेर पैसा कमाइराखेको छ । त्यसको अब हामी काठमाडौं महानगरवासी सहने छैनौँ, हटाउँछौँ । हटाएन भने अब स्थानीय बासिन्दा र नगरपालिका मिलेर आवश्यक कारबाही गरेर अगाडि बढ्छौँ । ’

मेयर शाक्यले पुनर्निर्माण प्राधिकरणले कुनै पनि विवादमा नबोल्दासमेत निर्माण कार्यमा ढिलाइ हुने गरेको बताए । विवाद आएपछि प्राधिकरण भाग्ने गरेको आरोप पनि मेयर शाक्यले लगाए । उनले भने, ‘मैले पुनर्निर्माण प्राधिकरणलाई पनि भनेको छु, आफूले गर्दा जे पनि ठिक अरूले गर्दा बेठिक भन्न पाइन्न । हाम्रो लागि बोल्ने को ? उहाँहरूले गर्दा सबै बोल्ने हामी, उहाँहरूलाई पर्दा सबै संरक्षण हामीले गरिदिनुपर्ने अनि विवाद आएपछि आफू पन्छिएर भाग्न पाइन्न ।’

प्रतिक्रिया