पूर्ण रुपमा खुल्दै, नेपाली चलचित्र क्षेत्र

admin

काठमाडौं, २९ पुस नेपाल सरकारले चलचित्र उद्योग बचाउन विभिन्न शिर्षकमा आर्थिक सहयोग अनुदान उपलब्ध गराउने भएपछि चलचित्र क्षेत्र चलायमान हुने भएको छ । नेपाल सरकारको यो कदमले सबैलाई बाच्ने आधार दिएको भन्दै निर्माता संघले धन्यवाद दिएको छ । माघ १ गतेबाट चर्चित नायक शिव श्रेष्ठले निर्माण गरेको चलचित्र एउटा यस्तो प्रेम कहानीको प्रदर्शन पनि हुने भएको छ ।

यस सँगै १० महिना देखि ठप्प रहेको उद्योग चलायमान हुने विश्वास गरिएको छ । नेपाल सरकारले स्वास्थ्य सावधानीको उपाय अपनाएर सबै गतिविधि तथा कामहरु गर्न अनुमति पनि दिएको छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल सरकारले बीमा, भीपीसी कस्ट,इन्कोडिग कस्ट,प्रचार प्रसार तथा पब्लिसिटीमा आर्थिक अनुदान दिने निर्णय भएको बताए ।

चलचित्र निर्माण छायांकनलाई एक परियोजना बनाइ एक करोड पचास लाख सम्मको बीमा गर्ने बीमाको प्रिमियम बापतको पैसा नेपाल सरकारले तिरिदिने निर्णय भएको पनि अध्यक्ष अधिकारीले बताए । यस्तै सरकारले अहिले रिलिजको तयारीमा रहेका सिनेमाको भीपीसी कस्ट र इङ्कोडिङ्ग कस्ट बापतको रकम पनि नेपाल सरकारले तिरिदिने व्यवस्था भएको बताए ।

यस प्रकारको सरकारको सहयोगले सम्पूर्ण चलचित्र उद्योग नै एकसाथ चलायमान हुने वातावरण बनेको पनि अध्यक्ष अधिकारीले बताए । यसैगरी मौद्रिक नीतिमा घोषणा भएको अति प्रभावित क्षेत्रलाई दिने भनेको सहुलियत कर्जा तथा अनुदान कार्यन्वयनमा ल्याउन सरकारसँग माग गरेको पनि अध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया