पूर्वराजकुमार ह्यारी दम्पतीद्वारा बेलायती राजपरिवारमा रहँदा भोग्नुपरेका कठिनाइहरू सार्वजनिक

admin

एजेन्सी, २४ फागुन : बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मर्केलले बेलायती राजपरिवारमा रहँदा भोग्नुपरेका कठिनाइहरू सार्वजनिक गरेका छन् । अमेरिकाको कोलम्बिया ब्रोडकास्टिङ सिस्टम (सीबीएस) टीभीका लागि दिएको अन्तर्वार्तामा ह्यारी र मेगनले दरबारभित्रका विभेदका बारेमा खुलासासमेत गरेका छन् ।

दुई घण्टा लामो अन्तर्वार्तामा उनीहरूले जातीवाद, मानसिक स्वास्थ्य, सञ्चारमाध्यमसँगको आफ्नो सम्बन्ध र राजपरिवारसँग सम्बन्धित विषयमा बोलेका छन् । मेगनले शाही परिवारले आफ्नो छोरा आर्चीको छालाको रङ्गलाई लिएर राजपरिवारका सदस्यले टिप्पणी गरेका र उनलाई राजकुमार बनाउन नचाहेको दाबी पनि गरेकी छिन् ।

शाही सदस्यको रूपमा आफू दरबारमा एक्लिएको र मानसिक रूपमा अस्वस्थ्य बनेको समेत मेगन मर्केलको भनाइ छ । सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट पन्छिएपछि ह्यारी र मेगन अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् । गएको महिनामात्रै उनीहरूले राजपरिवारको उत्तरदायित्व सम्हाल्न नफर्किने घोषणा गरेका थिए ।

अन्तर्वार्तामा उनीहरूले राजपरिवारले आफूहरूको संरक्षण गर्न नसकेको बताएका छन् । ह्यारीले बुबा राजकुमार चार्ल्ससँगको सम्बन्ध भने बिग्रिँदै गएको र आफूलाई राजपरिवारले आर्थिक रूपमा सहयोग गर्न छाडेको पनि बताए । राजपरिवारसँग आफुहरुको सम्बन्ध बिग्रनुको मुख्य कारण जातीय (नस्लीय) विभेद रहेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया