पूर्वसचिव पत्नीको दर्दनाक हत्या

admin

काठमाडौं, २८ माघ । कुनै–कुनै हत्याका घटना सुन्नेलाई नै पीडादायी हुन्छन् । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको सोमबार त्यस्तै निर्मम हत्या भएको छ । घटनामा घरायसी कामदार विजय चौधरी संलग्न रहेको सीसीटीभी फुटेजका आधारमा प्रहरी निचोडमा पुगेको छ । घरमा दुई जना मात्र भएका बेलाको उक्त घटनामा विजय पनि नाइलनको डोरी घाँटीमा बाँधिएको अवस्थामा मृत फेला परेका छन् । आत्महत्याको अनुमान गरिए पनि उनले आफैं पासो लगाएको भने सीसीटीभी फुटेजमा नदेखिएको प्रहरीले जनाएको छ ।

ललितपुर सानेपास्थित घरमै मुनालाई प्लास्टिकको पिर्काले हिर्काएर चौधरीले हत्या गरेको प्रहरीले जनाएको छ । ‘बिहान १० बजेर २० मिनेटतिर विजयले मुनालाई घाँटीमा डोरीले बाँधेर भुइँमा बजारेको देखिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘मुना भुइँमा लडेपछि कपाल समाती टाउको बजारेर प्लास्टिकको पिर्काले हिर्काएको देखिन्छ ।’ उनको घरमा सुत्ने कोठा र बाथरुमबाहेक अन्यत्र सीसीटीभी छ । प्रहरीले अर्जुनका भनाइ, घरमा काम गर्ने अन्य कामदार र सीसीटीभीलाई आधार बनाएर अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।

दुई छोरी र एक छोराकी आमा मुनाको हत्या के कारणले गरियो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । पूर्वसचिव कार्की बिहानै पशुपतिनाथ मन्दिर गएका थिए । फर्किएपछि घटना थाहा पाएको उनले आफन्त र प्रहरीसँग बताएका छन् । अर्जुनका अनुसार मुना अचेत अवस्थामा लडिरहेकी थिइन् । उनले तत्काल प्रहरीमा खबर गरे । प्रहरी घटनास्थल पुगेपछि मुनालाई ललितपुर सानेपास्थित स्टार अस्पताल लगिएको थियो । तर, मुनाको मृत्यु भएको थियो ।

प्रहरी घटनास्थलमा पुग्दा मुना भान्साकोठामा रगताम्य भएर लडिरहेकी थिइन् । विजय नाइलनको डोरीले पासो लगाएको अवस्थामा डाइनिङ टेबलमा लडिरहेका थिए । घटना हुँदा कार्की दम्पतीका १२ वर्षीय छोरा विद्यालय गइसकेका थिए । घरमा कामदार रहेकी महिला छोरालाई स्कुल पु¥याउन गएकी थिइन् ।

महानगरीय प्रहरी अपराध महाशाखा र ललितपुर प्रहरी परिसरले संयुक्त रूपमा अनुसन्धान थालेका छन् । ललितपुर परिसर प्रमुख एसएसपी टेक राईले घटनास्थलमा भएका सीसीटीभीलाई आधार बनाउँदा विजयले मुनाको हत्या गरेको देखिएको बताए । ‘विजयले मुनामाथि गरेको सांघातिक आक्रमण सीसीटीभीबाट देखिए पनि आफूले पासो लगाएको देखिँदैन’, एसएसपी राईले भने, ‘हामी अनुसन्धानमै छौं ।’ पोस्टमार्टम रिपोर्ट आएपछि रहस्य खुल्ने उनले बताए ।

घटनास्थलमा खटिएका महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले मुनाको हत्या कामदार विजयले गराएको सीसीटीभीबाटै पुष्टि भएको बताए । ‘मुनाको हत्या विजयले गरेकामा दुईमत रहेन’, एसपी सिंहले भने, ‘तर, किन हत्या गर्‍यो भनेर हामी अनुसन्धानमै छौं ।’ मुना र विजयको शव पोस्टमार्टमका लागि प्रहरीले पाटन अस्पतालमा लगेको छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया