पूर्व लडाकूहरुसँग प्रधानमन्त्री ओलीको छलफल

admin

काठमाडौं, ११ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले (पूर्व लडाकू) जनमुक्ति सेना नेपाल र बहिगर्मित बाल सेनाहरुसँग छलफल गरेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमुक्ति सेनालाई ओलीले हेर्ने, भन्दै भाषण गरेको भोलिपल्ट नै (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै संगठनका नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका हुन् ।

यसअघि प्रचण्ड-नेपाल नेतृत्वको नेकपा राजनीतिको ओरालो यात्रामा रहेको टिप्पणी गर्दै आफू नेतृत्वको नेकपामा ढुक्क भएर लाग्न पूर्व लडाकुहरुलाई आग्रह गरेका थिए । तत्कालीन माओवादी सशस्त्र युद्धको क्रममा राज्य विरुद्ध युद्धको अग्र मोर्चामा खटिएका पूर्व जनमुक्ति सेनाले पार्टी विभाजनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने संकेत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व बाल लडाकु (बहिगर्मित बाल सेनाका संयोजक) लेनिन विष्ट नेतृत्वको पूर्व लडाकु प्रतिनिधिमण्डको भेटमा प्रधानमन्त्री ओलीले पूर्व लडाकुका पूर्व सुप्रीम कमाण्डर प्रचण्डले जनयुद्ध (सशस्त्र संघर्ष) लडेका लडाकुको योगदानलाई प्रचण्डले सत्ता र शक्ति प्राप्तिको भर्‍याङ मात्रै बनाएको प्रधानमन्त्री ओलीको आरोप छ ।

संयोजक विष्टका अनुसार प्रधानमन्त्रीले आफूहरुको सबै मुद्दा सम्बोधन गर्ने बचन दिएका छन् । उनले अघि भने, ‘धेरै विषय बाहिर नभन्ने भनिएको छ । तर हामी पार्टीमा उहाँलाई साथ दिन सहमत भएका छौं ।’ ‘हामी पार्टी एकताकै पक्षमा थियौं, त्यसका लागि दबाव पनि दिएका हौं । तर त्यो अवस्था नरहेपछि हामीले प्रधानमन्त्री ओलीलाई साथ दिएका हौं ।’

पूर्व लडाकुहरुले पार्टी र सरकारबाट यथोचित न्याय र सम्मानको अपेक्षा गरेको बताएका थिए । राष्ट्रको लागि आफूहरूले विगतमा गरेको योगदानको उचित कदर हुनुपर्ने पूर्व लडाकुको मागलाई प्रधानमन्त्री ओलीले उचित कदम चाल्ने आश्वासन दिएका थिए । प्रधानमन्त्री ओलीले जनयुद्धको अवधीमा गरेको योगदानको पार्टी र राज्यले उचित सम्मान गर्ने प्रतिबद्धता समेत जनाए ।

उनले जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने बताएका छन् । उनले अघि भनेका छन्, ‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं । विगतमा जस्तो धोका पाउनु हुने छैन ।’ भेटमा सहभागी नेकपा केन्द्रीय सदस्य लीला थापाका अनुसार प्रधानमन्त्री ओलीले आन्दोलनका घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय भइसकेको जानकारी दिएका छन् ।

सहिद परिवारलाई एक घर एक राजेगारी, वेपत्ताहरुको अवस्था सार्वजनिक, संक्रमणकालीन न्यायका बाँकी काम छिटो टुंग्याउनुपर्ने लगायतका मागमा पनि प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।

प्रतिक्रिया