पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न निगम अगाडि प्रदर्शन

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २८ असार :पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै आज नेपाल आयल निगम लिमिटेडको कार्यालय अगाडि धर्ना दिइएको छ ।

कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण आम उपभोक्ताको रोजगारी खोसिएको अवस्थामा सरकारले पटकपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा युवाले आज एक घण्टा धर्ना दिएका हुन् ।

सरकारले शुक्रबारदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको थियो । सरकारले त्यसअघि असार १६ गते मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । दश दिनको बीचमा पेट्रोलको मूल्य लिटरमा रु छ र डिजेलमा रु तीनले बढेको छ ।

मूल्य बढेसँगै पेट्रोलको मूल्य लिटरको रु १०२ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु ८८ भएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत् राखिएको छ । सोही अवसरमा नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोनाको महामारीका समयमा पनि सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाउनु उचित नभएको भन्दै बढाएको मूल्य तत्काल फिर्ता नलिए आन्दोलन गर्ने बताउनुभयो ।

प्रतिक्रिया