पोखरामा वार्षिक र मनसुनी वर्षामा रेकर्ड

admin

काठमाडौं, ६ असोज : पोखरामा वार्षिक र मनसुनी वर्षाले रेकर्ड बनाएको छ । यसअघि सन् १९९५ को मनसुनमा ४ हजार ६८ दशमलव ९ मिलिमिटर पानी परेको पोखरामा यो वर्षको मनसुनमा (हिजो) सोमबारसम्म ४ हजार २ सय २० दशमलव २ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको हावापानी विश्लेषण शाखाकी शाखा प्रमुख इन्दिरा कँडेलका अनुसार यो वर्ष पोखराको वार्षिक वर्षाले पनि रेकर्ड बनाएको छ । यसअघि सन् १९९८ मा ४ हजार ८ सय ७९ मिलिमिटर पानी परेकोमा यो वर्ष सकिन तीन महिना बाँकी छँदै ५ हजार ९७ दशमलव ३ मिलिमिटर पानी परेको उनले जानकारी दिइन् ।

मनसुन सकिन अझै केही दिन लाग्ने र यो वर्ष सकिन अझै तीन महिना बाँकी भएकाले वर्षाको रेकर्ड अझै बढ्नेछ । सामान्यतया जुन १० तारिखमा नेपाल भित्रिने मनसुन सेप्टेम्बर २३ मा बाहिरिने गरेपनि केही वर्षयता ढिला भित्रिएर ढिलै बाहिरिने गरेको छ ।

यो वर्ष नेपालमा दुई दिन ढिला गरी मनसुन भित्रिएको थियो भने धेरै ठाउँमा औषत भन्दा धेरै पानी पानी परेको छ । यसैबीच बंगालको खाडी नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभावले मंगलबार, बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा सोमबार/आइतबारको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार मंगलबार र बुधबार मध्य र पूर्वको तुलनामा पश्चिममा अलि धेरै पानी पर्नेछ । मंगलबार वाग्मती, गण्डकी र प्रदेश ५ का एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताए । देशभरि कै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना पनि नभएको मौसमविद् श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया