पोखरामा साग भव्यरुपमा शुभारम्भ

राष्ट्रिय समाचार समिति

पोखरा, १६ मङ्सिर : पर्यटकीय नगरी पोखरामा तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता भव्यरुपमा शुभारम्भ भएको छ । सागमा खेलाइने कुल २६ खेलमध्ये आठ खेल आज भव्य समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले औपचारिकरुपमा शुभारम्भ भएको घोषणा गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले पर्यटकीय नगरी पोखरामा सागका केही खेल हुनुले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको भन्दै उहाँले यसबाट भ्रमण वर्ष २०२० लाई सफल पार्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले साग नेपालका लागि महत्वपूर्ण अवसर भएको बताउँदै यसको सफलताका लागि अहोरात्र कृयाशिल सबैलाई धन्यवाद दिनुभयो ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश शिलवालले दुई÷दुई पटकसम्म सरेको साग सबैको साथ र सहयोगमा यस पटक भव्यताका साथ सम्पन्न गर्न लागिएको बताउनुभयो । तीन महिनाको अवधिमा सागलाई लक्षित पूर्वाधार तीव्ररुपमा निर्माण भएको बताउँदै उहाँले सागमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरामा साग हुनु पोखरा र गण्डकी प्रदेशका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पर्यटकीय नगरी पोखरामा सागका खेल सञ्चालन हुनुले यहाँको खेल पर्यटनका लागि उत्तिकै सम्भावना उजागर गर्नुभयो । राष्टिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले पोखरामा साग हुनु यहाँका लागि महत्वपूर्ण अवसर भएको र यसलाई सम्पन्न गराउन सबैको साथ र सहयोग प्राप्त भएको बताउनुभयो ।

उद्घाटन समारोहमा सागमा सहभागी सार्क राष्ट्रका खेलाडी तथा पदाधिकारीले मार्च पास गरेका थिए भने उक्त अवसरमा विभिन्न झाँकी प्रदर्शन गरिएको थियो । गुरुङ, नेवार, थकाली, ब्राह्मण, क्षेत्रीलगायत जातजातीको वेषभुषासहितका झाँकीले रोमाञ्चक बनेको पोखरा रङ्गशालामा साँझ आतीसबाजीसमेत गरिएको थियो ।

प्रतिक्रिया