पौडी ,बाँस्केटबल र नृत्यमा उत्कृष्ट पोलियो पिडित सरीताको हृदयविदारक जीवनकथा [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। भृकुटीमण्डपस्थित खुल्ला बजारको पसलमा एउटी अपांगता भएकी महिला छन्। तर, उनी बहुमुखी प्रतिभाले भरिएकी छन्। अहिले फलामे खुट्टा जाेडेर केही हदसम्म हिँड्छिन्। तर, सजिलो गरी हिँड्न सक्दिनन्। त्यसलै उनी सहजताका लागि ह्वीलचियर प्रयोग गर्छिन्। सुनसरी बराह नगरपालिका स्थायी घर भएकी सरीता थुलुङ ३ वर्षकी छँदा उनलाई ज्वरोले समायो। बाबा-आमाले धामी, झाँक्रीलाई देखाए। सञ्चो भएन। तर, भित्रभित्रै पोलियाेले गालेछ।

१५ वर्षको उमेरमा खुट्टाको अप्रेसन गरेर क्यालिफर लगाएर थुलुङको नयाँ जीवन सुरुवात भएको हो। अहिले भृकुटीमण्डपको एउटा पसलमा चलाउछिन् सरिता थुलुङ। उनी ह्वीलचियरमै बसेर आउने जाने गर्छिन्। यी तिनै सरिता हुन् जो ह्वील चियरमा बसेर नाच्छिन्। उनको प्रतिभालाई लिएर सामाजिक संजालमा खुबै चर्चा भइरहन्छ। आमाको चाहना र मायाको कारणले नै उनले सफलताको उचाइममा आएको बताउँछिन्।

बाल्यवस्थाको शिक्षा गाउँको विद्यालयमा बितेको हो। ‘मलाई पढ्न इच्छा लागेकोले म आफै घिस्रेर स्कुल सम्म पुगेको हो,आफै गएर स्कुलमा नाम लेखाएकि हुँ,’ उनी भन्छिन्, ‘मानिसको इच्छाशक्तिलाई कहिले मर्न दिनुहुँदैन। मानिसको धन भनेको इच्छाशक्ति रहेछ।’ बैङ्गोलरको रिह्याब सेन्टरबाट अनौपचारिक शिक्षा समेत लिएकी थिइन् उनले। धरानको सुनसरी टेक्निकल स्कुलबाट ल्याब पढाइ सुरु गरेर सर्लाहीबाट प्लस टू सकेर काठमाडौंमा आएर उनले स्नातक पनि पूरा गरिन्। काठमाडौं बसेर उनी पनि शिक्षाको यात्रामा छिन्।

जागिरे जीवन पनि उनले भोगिन्। पहिलोपटक सर्लाहीमा प्रेरणा भन्ने संस्थामा काम गरेको,काठमाडौंमा ७ वर्षसम्म जागिर खाएको र महिनाको १०-१२ हजार तलब बुझेका स्मरण ताजै छन्। अहिले उनी आफ्नो व्यापारव्यवसायमा नै व्यस्त छिन्। अनि उनी जागिर भन्दा पनि व्यापारसँग सन्तुष्ट पनि छिन्।

हाल थुलुङ कोटेश्वरमा १० वर्षदेखि परिवार सहित बसिरहेकी छिन्। प्रेम विवाह गरेकी उनी श्रीमान, छोरी र सासुससुरासहित बस्छिन्। श्रीमान निजी स्कुलका ड्राइभर छन्। उनको सहयोग र माया धेरै छ। मन मिलेपछि उनीहरूले विवाह गरेका हुन्। पत्नीको शारीरिक अवस्था प्रति श्रीमानलाई गुनासो छैन। उनैको साथ र सहयोगले आफूलाई यहाँसम्म ल्याएको उनले बताइन्।

उनी बिहान ६ बजे उठेर रत्नराज्यलक्ष्मी कलेजमा साढे ६ नबजी पुगिसक्छिन्। स्नातक तह सकेर एल.एल.बी पनि भर्ना भएकी छिन्। उता राजनीतिक शास्त्रमा स्नातकोत्तर पनि गर्दैछिन्। फुर्सदको समयमा काठमाडौंका विभिन्न विद्यालयमा गएर नृत्य सिकाउँछिन् उनी।

उनी कलालाई सदा सम्मान गर्नुपर्छ भन्ने मान्यता राख्छिन्। उनले भने नृत्य आफैँ सिकेकी हुन्, युट्युब र टी.भीबाट। अहिले पनि उनले सिकिरहेको छिन्।उनलाई घरिघरि आफ्नो जीवनको लक्ष्य प्राप्त गर्दिन कि भन्ने कुराले पिरोल्छ। ‘लक्ष्य गाउँमा गएर स्कुल पढाउने, देश र जनताको सेवा गर्नु हो,’ उनले पहिलोपल्ट पुरस्कार पाउँदाको क्षण सुनाउँदै भन्छिन् ‘म पनि केही गर्ने सक्ने रहेछु।’ परिचय ठाउँ अनुसार परिवर्तन हुँदै गएको छ। उनी भारत गएर ह्वीलचियर नृत्यबाट पुरस्कार जितेर ल्याइन्।

ह्वीलचियरबाट बास्केटबल खेलेको र त्यस गेममा बंगलादेशलाई पराजित गरेर आफूहरू विजयी भएको उनको मानसपलटमा अझै ताजै छ। उनले खेलबाट पनि देशको सेवा गर्ने साेचेकी छिन्। खेलकै लागि थुलुङ थाइल्यान्ड, जापान र स्वीजरल्यान्ड गइसकेकी छिन्। थाइल्यान्डमा ह्वीलचियर बास्केटबल तालिम लिन गएको र जापानमा भने स्वीमिङ तालिम लिन गएको उनले बताइन्।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू