प्रचण्ड-नेपालद्वारा ओलीको कदमलाई प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन

admin

काठमाडौं, १५ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले यही माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने र देशव्यापी रुपमा जागरण पैदा गरेको आन्दोलनलाई अझै उचाईमा पुर्‍याउने निश्कर्ष निकालेको छ । नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको बिहीबार बसेको बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्‍याउनेमा जोड दिएको हो ।

उक्त समूहका नेता विष्णु रिजालकाअनुसार बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारेका थिए ।

आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै द्धिविधाबिना लाग्नुपर्ने प्रचण्ड-नेपालको भनाई थियो । बैठकले यही माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको छ ।

अध्यक्षद्वय दाहाल र नेपालले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका थिए । 

प्रतिक्रिया