प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन : लाखौं कार्यकर्ता सडकमा, धेरैजसो ठाउँमा जामसँगै अस्तव्यस्त (भिडियोसहित)

admin

काठमाडौं, ९ माघ : प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्ड-माधव समुहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

त्यसका लागि बिहान ११ बजे काठमाडौं र ललितपुरका विभिन्न ९ स्थान (आर्क) बाट जुलुस निकाल्ने तयारी भए पनि केही ढिला गरी कार्यक्रम शुरु भएको हो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ ।

विरोध सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्नेछन् । सभाअघि माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, पद्मोदय मोड, पुतलीसडक, त्रिचन्द्र कलेजलगायतका ठाउँबाट जुलुस निकालिएको थियो ।

जुलुसको नेतृत्व प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरू गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल, भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, युवराज ज्ञवाली, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गरेका थिए ।

प्रदर्शनका कारण काठमाडौं उपत्यकाका सडक अस्तव्यस्त भएका छन् । धेरैजसो ठाउँमा जाम बढेको र अस्तव्यस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको नेकपाले विरोध गर्दै आइरहेको छ । सबै राजनीतिक मुद्दाको गुनासो पोख्ने ठाउँ सडक बनाइँदा दैनन्दिन मजदुर र सर्वसाधारणले भने सास्ती भोग्दै आइरहेका छन् । विरोधको स्वरूप फेरिनुपर्ने उनीहरू बताउँछन् ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै यसको विरोध भइरहेको छ । यसको विरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया