प्रचण्ड-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रमको घोषणा

admin

काठमाडौं, १२ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समूहले थप आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल समूहले माघ १३ गते मंगलबारदेखि २८ गतेसम्म विरोध गर्ने गरी थप कार्यक्रम सार्वजनिक गरेको हो ।

सार्वजनिक कार्यक्रमअनुसार प्रचण्ड-नेपाल समूहले मंगलबार सिट्ठी जुलुस निकाल्ने, बुधबारदेखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना दिने, १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्नेलगायत छन् । काठमाडौं उपत्यका बाहिर १५ गते बुटवल, १६ गते विराटनगर, १७ गते धनगढीमा विरोध प्रदर्शन गर्ने प्रचण्ड-नेपाल समूहले घोषणा गरेको छ ।

प्रदेशका राजधानीहरुमा विशिष्ट प्रकारका ठोस कार्यक्रमलाई निरन्तरता दिने, समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया गर्ने पनि घोषणा गरेको छ । यस्तै माघ २२ गते काठमाडौंमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले पछिल्लो पटक कुनैपनि पक्षका निर्णय अमान्य घोषणा गरेको प्रश्नमा आफूहरुले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गरेका छन् । उनले निर्वाचन आयोगले कानुनसम्मत निर्णय गर्छ भन्नेमा विश्वस्त रहेको भन्दै आयोगको पत्र हेरेर आवाश्यक निर्णय गर्ने पनि बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट प्रचण्ड(नेपाल पक्ष अलग्गिएको छ । तर, निर्वाचन आयोगले भने पुस ५ गते यता भएका छुट्टाछुट्टै समूहका बैठक र निर्णयलाई मान्यता नदिने बताएको छ ।

प्रतिक्रिया