प्रचण्ड-नेपाल समूहले ओली समूहका रहेका नेताहरूलाई ‘मूल पार्टी’ मा फर्कन आग्रह गर्‍यो

admin

काठमाडौं, १२ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहका रहेका नेताहरूलाई मूल पार्टीमा फर्कन आग्रह गरेको छ ।

बुधबार बसेको स्थायी कमिटीको बैठकले आफूहरू नै पार्टी भएको र यसैमा आवद्ध भएर कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक गणतन्त्रको रक्षामा सहभागी हुन ओली पक्षमा रहेका नेताहरुलाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अहिलेकै अवस्थामा फेरि ओलीसँग एकता नहुने पनि बैठकले निष्कर्ष निकालेको छ । ओलीले आफूले गरेका गल्तीको सार्वजनिक रूपमा माफी मागेर आत्मालोचना गर्नुपर्ने र गुटबाट माथि उठ्ने बलियो प्रतिबद्धता जनाएमा मात्रै एकताको कुरा सुरु हुन सक्नेमा पनि स्थायी कमिटीका सदस्य एकमत रहेको श्रेष्ठले जानकारी दिए ।

बैठकले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक कदमको संज्ञा दिँदै लोकतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षडयन्त्रलाई असफल पारेकोमा धन्यवाद पनि दिएको छ । प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक पनि बुधबार नै बस्दैछ ।

प्रतिक्रिया