प्रजातन्त्र दिवसका अवसरमा सरकारी कार्यालय सरसफाइ

रिता घिसिंग

चितवन, ६ फागुन (रासस) : प्रजातन्त्र दिवसका अवसरमा आज जिल्लाका सरकारी कार्यालय परिसरमा सरसफाइ गरिएको छ । प्रजातन्त्र दिवस मनाउन सरकारीस्तरबाट गठीत समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार सबै सरकारी कार्यालयमा प्रमुखसहितका कर्मचारीले सरसफाइ गरेका हुन् । 

उहाँले सरकारी कार्यालय परिसरमा फोहर बढेको गुनासो आएकाले आफ्नो कार्यालयको सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि यस अवसरमा कार्यालय सफा गरिएको बताउनुभयो । 

 

प्रमुख जिल्लाअधिकारी जीतेन्द्र बस्नेतले आज जिल्लाका सबै सरकारी कार्यालय सफा गरिएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा संस्थानसहित १०८ सरकारी कार्यालय छन् । आइतबार सम्पन्न कार्यालय प्रमुखहरूको बैठकमा आज सबै कार्यालयमा सरसफाइ गर्न निर्देशन दिइएको थियो । प्रजातन्त्र दिवसकै अवसरमा मङ्गलबार बिहान प्रभातफेरी र रक्तदानको कार्यक्रम पनि गरिँदै छ । 

 

प्रतिक्रिया