प्रतिक्रियावादीहरु परिवर्तन उल्ट्याउन लागे : अध्यक्ष दाहाल

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १३ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरु परिवर्तन उल्ट्याउन लागिपरेको बताउनुभएको छ । नेत्रविक्रम चन्द समूहका नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराउँदै उहाँले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्ट्याउन केही तत्व लागिपरेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “अझै पनि प्रतिक्रियावादीहरु वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाएहुन्थ्यो भन्नेमा छन् ।” जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले भन्नुभयो, “यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ ।” उहाँले जनता र राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई रुचाउने सबै नेता तथा कार्यकर्ता एक ठाउँमा एकताबद्ध भएर यो व्यवस्थाको रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताविरुद्ध षड्यन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन् ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफूहरु कोही पनि कमजोर नहुने उहाँको भनाइ थियो । “हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धिमा टेकेर अगाडि जाने भनेर आएको हो”, अध्यक्षले भन्नुभयो । क्रान्ति दुई÷चार जनाको रहले नहुने उल्लेख गर्दै उहाँले समाजवाद स्थापना गर्ने उद्देश्यमा समाहित भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो । पार्टी प्रवेश गर्नेलाई उचित जिम्मेवारी दिइने उहाँले बताउनुभयो ।

नवप्रवेशी सो समूहका ब्यूरो सदस्य रमण घिमिरेले क्रान्तिका नाममा आफूहरुले बाटो बिराएको महशुस भएपछि चन्द समूह परित्याग गरी नेकपामा प्रवेश गरेको बताउनुभयो । नेकपा प्रवेश गर्नेमा ब्यूरो सदस्य घिमिरे, आवास मन्सुरी, सुरेशकुमार यादव, विनोद केसी, सुवास तिवारी, राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की र नमराज शर्मालगायत छन् । रासस

प्रतिक्रिया