‘प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक फिर्ता, प्रधानन्यायाधीशले भाग नमागेको स्पष्ट’

admin

काठमाडौं, २२ असोज : शुक्रबार प्रतिनिधि सभाको बैठकमा संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधिसभामा पेश गरेको सो प्रस्तावमाथि बहुमत सांसदले स्वीकृत गरेका हुन् ।

मन्त्री कार्कीको प्रस्तावको विपक्षमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल रहेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक फिर्ताको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदले विधेयक फिर्तामा स्वीकृती जनाएका थिए भने सुवालको फिर्ता लिन नहुने प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।

नेकपा एमालेको नाराबाजी र अवरोधकाबीच सरकारले प्रतिनिधिसभाबाट विधेयक फिर्ता लिएको हो । यस्तै सरकारले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भाग मागेको भन्ने कुरामा कुनै सत्यता नभएको जनाएको छ । शुक्रबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकार गठनका निम्ति प्रधानन्यायाधीशले भाग मागेको सम्बन्धमा स्पष्ट पार्न माग गरेका थिए ।

त्यो प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार गठनमा प्रधानन्यायाधीशले भाग नमागेको स्पष्ट पारे । अब प्रतिनिधिसभाको बैठक असोज २५ गते सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया