प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरू देशविरोधी हुन् : प्रधानमन्त्री ओली

admin

काठमाडौं, ११ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरू देशविरोधी भएको बताएका छन् । आइतबार अपाङ्गता भएका व्यक्तिहरूको समस्या र सवालमा अपाङ्गतासँग सम्बन्धित विभिन्न सङ्घ-सङ्गठनहरूले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेर कराउनेहरू देशविरोधी भएको बताएका हुन् ।

असंवैधानिक भन्नेहरू संविधान तथा लोकतन्त्रको विरोधी भएको पनि उनले बताए । प्रतिनिधि सभा पुनर्स्थापना गर्न चाहनेहरू देशमा अस्तव्यस्तता खडा गरी स्थिरता र स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोपसमेत प्रधानमन्त्री ओलीको छ ।

संसद् पाँचै वर्ष हुनका लागि सांसदहरूको जागिर नभएकाले सांसदको काम हेरेर नागरिकलाई पुरस्कृत तथा दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्ने उनको भनाइ छ । आफूले शासक बन्ने गरि हातमा केही नराखेको भन्दै प्रधानमन्त्री ओलीले नागरिकलाई निर्णय गर्न दिने कुरा तानाशाह नभएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अपाङ्गता भएका व्यक्तिहरूको साथमा सरकार रहेको बताए । शारीरिक रूपले अशक्त, असक्षमहरूका लागि सरकार चाहिने भन्दै अशक्तहरूको जीवनमा आइपर्ने समस्या समाधान गर्न सरकारले ध्यान दिने ओलीले प्रतिबद्धता गरे । उनले अहिले बालबालिकाहरू सडकमा आउनुपर्ने अवस्था नरहेको पनि बताए ।

सडकमा आउने बालबालिकाहरूलाई अभिभावकको भूमिका निर्वाह गर्दै शिक्षा, स्वास्थ्य तथा सुनिश्चित भविष्यको प्रत्याभूति सरकारले गराउने पनि उनको भनाइ छ । प्रधानमन्त्री ओलीले शारीरिक अशक्तताका कारण उत्पन्न हुने समस्या निराकरण गर्न सकिने भन्दै हरेस नखान आग्रह गरे ।

देश विकासमा शारीरिक रूपमा अपाङ्गता भएकाहरूले पनि योगदान दिन सक्ने उनको भनाइ छ । देश गरिब भए पनि आफ्नो नागरिकलाई सक्दो हेरचाह गर्न कुनै कमी नराख्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।

प्रतिक्रिया