प्रथम ‘प्रकाश दाहाल स्मृति भलिबल’ प्रतियोगिता हुने

admin

काठमाडौँ, १२ भदौ: प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप भलिबल प्रतियोगिता हुने भएको छ । प्रगतिशील युवा नेपाल (गोरखा–काठमाडौँ)को आयोजनामा यही भदौ २४ देखि २८ सम्म राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।



प्रगतिशील युवा नेपालले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी सर्वाधिक धनराशि पुरस्कार भएको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा युवा नेपालका अध्यक्ष दीपक थापाले खेलाडीलाई नयाँ ऊर्जा थप्नका लागि खुला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभयो । खेलकूदको विकास भएमात्र समृद्ध मुलुक निर्माण हुने भन्दै प्रगतिशील युवा नेपालले खेलकूदको विकासका लागि काम गर्न लागेको उहाँको भनाइ छ ।

काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा हुने प्रतियोगिताको विजेता समूहले रु पाँच लाख पाउनेछ । यस्तै द्वितीय पुरस्कार रु तीन लाख, तृतीय पुरस्कार रु एक लाख, चौथो पुरस्कार रु ५० हजार रहेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही रु १०–१० हजार हात पार्ने अध्यक्ष थापाले बताउनुभयो ।

प्रतिक्रिया