प्रदेशमा गुटको शक्ति परीक्षण

admin

काठमाडौँ, मंसिर २० : कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको निर्वाचनको नतिजामा संस्थापन पक्ष बलियो देखिएको छ ।

आइतबार रातिसम्म मतगणना सकिएका चारमध्ये सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेश सभापतिमा देउवा तथा गण्डकीमा पौडेल–कोइराला पक्षका उम्मेदवार पक्षधर विजयी भएका छन् ।

सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजंग शाही र बागमतीमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । परिणाम सार्वजनिक भएका प्रदेशका अधिकांश पदाधिकारीमा पनि देउवा पक्षकै पकड देखिएको छ । लुम्बिनी र प्रदेश १ मा आइतबार रातिसम्म मतगणना जारी थियो ।

पहिलोपटक प्रदेश नेतृत्व चयन
मुलुक संघीय संरचनामा गएपछि कांग्रेसले पहिलोपटक प्रदेश नेतृत्व चयन गरेको छ । प्रदेश पदाधिकारीमा केन्द्रीय सदस्यका आकांक्षीको समेत समेटिएकाले १४औँ महाधिवेशनमा शीर्ष नेतृत्वलाई निकट नेताको व्यवस्थापन गर्न केही सहज हुने भएको छ ।

सबै पक्षको शक्ति परीक्षण
प्रदेश अधिवेशनमा कांग्रेसका सबै समूहले आफ्नो शक्तिको परीक्षण गरेका छन् । यसले देउवा, कोइराला–पौडेल, सिटौला र निधि पक्षलाई १४औँ महाधिवेशनमा कसरी र कस्तो समीकरणसहित अगाडि बढ्ने भन्ने रणनीति तय गर्न सहज बनाएको छ ।

साथै, सम्भावित समीकरणका लागि अर्को पक्षसँग संवादको ढोका खुलेको छ । बागमती र प्रदेश १ को अधिवेशनमा देउवा–सिटौलबीच समीकरण बन्यो ।

प्रकाशमान सिंह र गगन थापामाथि दबाब
कांग्रेस बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्र बानियाँ निर्वाचित हुँदा सभापतिमा लड्ने घोषणा गरेका प्रकाशमान सिंह र महामन्त्रीमा उठ्ने घोषणा गरेका गगन थापामाथि दबाब सिर्जना भएको छ ।

विशेषगरी बागमती प्रदेशमा संस्थापनइतर समूह बलियो मानिँदै आए पनि प्रदेशमा संस्थापन पक्ष हाबी भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया