प्रदेश ३ को राजधानी र नामाकरणबारे आज मतदान हुँदै

admin

काठमाडौं, २७ पुस : प्रदेश ३ को स्थायी राजधानी र नामाकरणबारे आज प्रदेशसभामा मतदान हुँदैछ। बिहान नौ बजे मतदान प्रकृया शुरु हुनेछ। प्रदेशको नाम बाग्मती राख्ने र राजधानी मकवानपुरको हेटौंडा नै कायम गर्ने पक्षमा अधिकांश दलहरु सर्वसम्मत देखिएका छन्।

प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न प्रदेशसभा सचिवालयमा शनिबारसम्म प्रस्ताव दर्ता भईसकेको छ। प्रस्तावित राजधानी र नामबारे आज आईतबार बस्ने प्रदेशसभामा मतदान हुनेछ। प्रदेश राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेको धुलिखेल प्रस्ताव गरिएको छ। तर धुलिखेललाई प्रदेश राजधानी बनाउनुपर्ने पक्षमा विवेकशील साझा मात्र देखिएको छ। नामाकरणबारे भने सबै दल बाग्मतीमै सहमत भएका छन्।

प्रदेशको स्थायी राजधानीका हेटौँडा कायम गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेल प्रस्ताव गरेका छन्। यो प्रस्तावमा नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) की रीना गुरुङले समर्थन गरेका छन्।

यस्तै, धुलिखेललाई स्थायी राजधानी कायम गर्ने पक्षमा विवेकशील नेपाली दलका रमेश पौड्याल प्रस्तावक तथा साझा पार्टीका शोभा शाक्य र विवेकशील नेपाली दलका विराजभक्त श्रेष्ठको समर्थन गरेका छन्।

प्रदेशको नामाकरण बागमती कायम गर्न काँग्रेस संसदीय दलका नेता बानियाँले प्रदेश सभा सचिवालयमा पेश गरेको प्रस्तावमाथि नेकपाका मुख्य सचेतक रामेश्वर फुयाल, विवेकशील नेपाली दलका पौड्याल, साझा पार्टीका शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गुरुङ समर्थक रहेका छन्।

प्रदेश राजधानी हेटौंडा कायम गर्न पाँच र बाग्मती नामाकरणका लागि प्रदेशसभामा रहेका सात दल सहमत छन्। प्रदेशसभामा स्वतन्त्रसहित ११० सांसद छन्। दुई तिहाइ बहुमतबाट प्रदेशको स्थायी राजधानी र नामाकरण प्रस्ताव पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया