प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद बैठक आह्वान, पाँच विकल्पमा काम गरिरहेको स्रोतको दावी

admin

काठमाडौं, १८ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

बालुवाटार स्रोतका अनुसार स्थायी समितिको बैठक ११ बजेबाट सुरु हुने भनिएपनि प्रधानमन्त्री ओलीले १२ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

बिहीबार बिहान प्रधानमन्त्री ओली पक्षीय नेताहरुलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गरेका थिए ।

बुधबार ललितपुरको एक होटेलमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेला भएको थियो । उक्त भेलाको निर्णयअनुसार प्रचण्डले ओली पक्षीय नेताहरुलाई बोलाएर परामर्श गरेका हुन् ।

बिहान ८:३० बजेदेखि सुरू भएको छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङलगायत सहभागी थिए ।

अहिले नेताहरु खुमलटारबाट बाहिरीइ सकेका छन् । आफू पक्षीय नेताहरु खुमलटारबाट बाहिरिएसँगै ओलीले १२ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन् । 

दाहाल-नेपाल पक्षले अध्यक्ष ओलीलाई दुवै पदबाट राजीनामा गराउनेगरी तयारी गरेसँगै ओलीको संकट चुलिएको छ । संकटको सामना गर्न ओलीले पाँच विकल्पमा काम गरिरहेको स्रोतले दावी गरेको छ ।

पहिलो विकल्प, ओली दाहाललाई फकाएर दाहाल-नेपाल गठबन्धन तोड्न चाहन्छन् । बिहीबार बिहान खुमलटारमा यसैबारे छलफल भए पनि केही निष्कर्ष ननिस्किएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ओलीका अन्य विकल्पहरुमा दुईमध्ये एक पद रोज्ने, दिइएको पदमा चित्त बुझाएर बस्ने, संसदीय दलको सामना गर्ने वा केही विकल्प नरहे पार्टी फुटाउन अध्यादेश ल्याउने रहेका छन् ।

प्रतिक्रिया