प्रधानमन्त्रीले भनेर होइन, टिम बनाउनका लागि नयाँ दल दर्ता गरेका हौं : रेस्लर खड्का (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, १९ असार : नेकपाभित्रको आन्तरिक कलह सतहमा आइरहेका बेला दल दर्ताले खैलाबैला मच्चिएको छ । नेकपा एमाले दल दर्ता गर्न खोज्ने को को हुन् ? नयाँ एमाले दर्ता गर्ने प्लान कसको ? केन्द्रीय समितिमा को को छ ? भन्ने विवरण सहितको पत्र बाहिरिए लगत्तै, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा खैलाबैला मच्चिएको हो ।

यता सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यले ओलीलाई दुवै पद छाड्न भनेका छन् । राजीनामा दिनुपर्ने दबावपछि प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी, आफूनिकट मन्त्री तथा नेताहरुसँगको छलफल तीब्र बनाएका छन् ।

बामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरेका छन् । असार १२ मा आयोगमा दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएको पाइएको हो ।

दलको अध्यक्ष भने सन्ध्या तिवारी हुन् । उनी झापाकै भएको नेकपा बैठकमा चर्चा चलेको थियो । तर उनी मोरङको विराटनगर महानगरपालिका-६ की भएको पाइएको छ । नयाँ पार्टी दर्ताका लागि निवदेन दिने सूचीमा रामेछाप गेलु निवासी रेस्लर भगवती खड्का उपाध्यक्ष छिन् ।

त्यसैगरी अर्की रेस्लर खोटाङ रातापानीकी अस्मिता सुनार प्रदेश १ को सचिव छिन् । प्रस्तावित नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रायः सबै युवायुवतीहरु छन् । तीमध्ये कतिपय पूर्वएमाले समर्थित छन् भने कोही राजनीतिक पृष्ठभूमिका छैनन् ।

पिएनपी खबरसँग कुरा गर्दै, रेस्लर भगवती खड्काले मदन भण्डारी ६९ औं जन्म जयन्तीका दिन निर्वाचन आयोगमा दल दर्ताका लागि निवदेन दिन पुगेकामध्ये आफू नवगठित पार्टीको उपाध्यक्ष र पूर्व एमालेको खेलकुद विभागको सदस्य भएको बताएकी छिन् ।

‘कसैले भनेर पनि होइन । हामीले टिम बनाउनका लागि दल दर्ता गरेका हौं । बाहिर के के चर्चा हुन्छन् । सबै कुराको जिम्मा लिने कुरा भएन, खड्काले भनिन्।’ एमालेप्रति आस्था भएकाले सानैदेखि पार्टीको समर्थक र २०७० सालबाट संगठित भएको बताइन् । कोही कसैले भनेर पार्टी दर्ता नगरेको उनको भनाई छ ।

प्रधानमन्त्री केपी ओलीले आफूलाई दल दर्ताको निवेदन दिन नभनेको र नेकपाको कोही नेतासँग सम्पर्क नभएको उनको दावी छ । आफूलाई राजनीतिका बारेमा खासै केही थाह नभएको उनी बताउँछिन् । उनले साथीरुको सामान्य टिम बनाउनमात्रै दल दर्ता गरेको बताइन् । ‘मलाई केही पनि थाहा छैन । एउटा टिम बनाउनका लागि मात्रै गरेका हौं । राजनीतिक उद्देश्य पनि होइन उनले भनिन् ।’

रामेछाप, मन्थली नगरपालिका-१२, अम्बास बेलीकी भगवती जनयुद्धमा पनि भाग लिएकी उनी माओवादीमा बन्दुक बोक्न बाध्य बनाएको भन्दै उनी तीन महिनापछि भागेर घर आएकी थिइन् ।

एसएलसीपछि पद्म कन्या क्याम्पसमा भर्ना भएकी उनले ‘नाता बन्धन जिन्दगीको’ सिरियलमा अभिनय गरेकी थिइन् । भारोत्तोलन खेलमा राट्रिय खेलाडीमेत रहेकी उनी गायिका पनि हुन् ।

‘यूनिका’ नामक एल्बम निकालेकी उनले नयाँबजारमा केही समय रेष्टुरेन्टसमेत सञ्चालन गरेकी थिइन् । उनले एक्सन कला सिकेर भोजपुरी फिल्म ‘प्रतिकार’मा लेडी भिलेनको रोलमा समेत अभियन गरेकी थिइन् ।

रक्षक, वर्षात्, नाइट क्वीन, हवल्दार सुन्तली, हिम्मतवालीलगायत गरी २ दर्जनभन्दा बढी नेपाली चलचित्रहरुमा अभिनय गरेकी उनी नेपालको पहिलो महिला रेस्लरसमेत हुन् ।

बाँकी भिडियोमा हेर्नुस ।

प्रतिक्रिया