प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन, आजै ३१ पुलको एकैचोटि शिलान्यास गर्ने

admin

झापा, १६ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कमल गाउँपालिका २ को कमल खोलाको पक्की पुलको उद्घाटन गर्ने भएका छन् । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने यस पुलको लम्बाइ एक सय ७० मिटर र चौडाइ ११ मिटर छ ।

सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको यस पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौंले १६ करोड ६२ लाख ६४ हजार नौ सय ७५ रुपैयाँमा लिएको थियो । विसं २०७२ माघ ६ गते ठेक्का सम्झौता भएको यस पुलको अहिले निर्माण सम्पन्न भएको हो ।

झापाका चार पुलको उद्घाटनपछि प्रधानमन्त्री ओलीले चीन नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले बताए । प्रधानमन्त्री ओलीले आइतबार नै मदन भण्डारी लोकमार्गका निर्माण हुने ३१ पुलको एकैचोटि शिलान्यास गर्ने कार्यक्रम छ ।

नेपाल-चीन औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री ओली गृह जिल्ला झापा पुगेका छन् । दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाको संगमस्थल झर्कामा निर्माण हुने नेपाल चीनमैत्री औद्योगिक पार्क सरकारले स्थापना गर्न लागेका ६ वटा औद्योगिक क्षेत्रमध्येको सबैभन्दा ठूलो हो ।

यो औद्योगिक क्षेत्र प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्छ । १ हजार ३ सय बिघा क्षेत्रफल निजी जग्गा अधिग्रहण गरेर बनाउन लागिएको पार्क निर्माणका लागि ६४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । प्रधानमन्त्री ओली आइतबार नै काठमाडौं फर्किने कार्यक्रम छ ।

सरकारले एक सातामा पाँचवटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार प्रधानमन्त्रीले फागुन १० गते कञ्चनपुरको दैजी-छेला औद्योगिक क्षेत्र शिलान्यास गरिसकेका छन् ।

यसैगरी फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र फागुन १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्रको पनि शिलान्यास भइसकेको छ ।

प्रतिक्रिया