प्रधानमन्त्री ओली आज दाङको देउखुरी जाँदै

admin

काठमाण्डाै, माघ १२ : प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरीमा जाँदै हुनुहुन्छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लाग्नु भएको हो ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे सिसहनियाँ–महदेवा जोड्ने पक्की पुलको उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विभिन्न झाँकी तथा र्‍याली पनि गरिने लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिनु भयो । राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माण अवधिभन्दा अगावै बनेको थियो ।

झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको पुलको लम्बाइ ८ सय ६० मिटर तथा चौडाइ १० मिटर रहेको छ । पुलको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गर्नु भएको थियो ।

यस्तै, पुल उद्घाटनपछि लालमटीयामा आयोजना गरिएको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा लुम्बिनी प्रदेश संगठन विभाग प्रमुख भूमिश्वर ढकालले जानकारी दिनु भयो । जनसभामा ५० हजार जना भेला हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया