प्रधानमन्त्री देउवाको गृह जिल्ला नेता कार्यकर्ता अनशनमा

admin

डडेलधुरा , ७ असाेज : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका गृह जिल्ला डडेलधुराका कांग्रेस नेता तथा कार्यकर्ताहरू रिले अनशनमा बसेका छन् ।

धाँधलीपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरण गरेर जबरजस्ती वडा अधिवेशन गराइएको भन्दै नेपाली काँग्रेस डडेलधुराको संस्थापन पक्षका नेता कार्यकर्ताहरू बिहीबारदेखि रिले अनशनमा बसेका हुन् ।

वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराए पनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर अनशनमा बस्नु परेको डडेलधुरा कांग्रेसका उपसभापति करूणाकर भट्टले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

हटाइएका क्रियाशील सदस्यता कायम गर, अवैधानिक ढङ्गले थपिएका सदस्यता खारेज गर, अवैधानिक वडा अधिवेशन बदर गर, वैधानिक वडा अधिवेशनको मिति तय गर भन्ने माग राख्दै एक पक्षीय गरिएको वडा अधिवेशनलाई मान्यता नदिन केन्द्रीय समिति र निर्वाचन समिति दुवै निकायलाई लिखित जानकारी पठाएको, पालिका अधिवेशनको नजिक आईपुग्दासम्म पनि कुनै जवाफ नआएपछि अनशन बस्ने निर्णयमा पुगेको सभापतिका प्रत्याशी हरि प्रसाद भट्टले बताए ।

पार्टी सभापति देउवाको निर्देशनमा जिल्लाबाट पठाइएको क्रियाशील सदस्यहरूको नाम काटेर केन्द्रबाट नाम थप गरिएको विरोधमा जिल्ला कार्यसमितिले वडा अधिवेशन स्थगित गर्ने निर्णय हुँदाहुँदै पनि भाद्र २५ गते वडा अधिवेशन गरिएको थियो ।

‘क्रियाशील सदस्यहरूको अधिकार पुनर्बहाली नभएसम्मका लागि आन्दोलन स्वरूप असोज २ गतेको जिल्ला कार्य समितिको आधिकारिक र बहुमतको निर्णय अनुसार रिले अनसनमा छौँ। हामी धैर्य गरेर केही दिन पर्खिएका पनि हौँ।

पुनरावलोकन हुने वा पीडितलाई न्याय दिने कुनै छनक देखिएन। यस्तो गम्भीर विषयमा पनि नेतृत्वले बेवास्ता गरे वा पेलेर लगे कडा रूप लिनु पर्ने अप्रिय निर्णय गर्न बाध्य नपारियोस् भन्ने आग्रह पनि गर्दछौँ’ उपसभापति भट्टले पत्रकार सम्मेलनमा बताए ।

प्रतिक्रिया