प्रधानमन्त्री निवासमा धार्मिक अनुष्ठान आयोजना

admin

काठमाडौं, ७ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति हस्तान्तरण गरेका छन् । राम-सीताका मूर्ति हस्तान्तरण गर्न प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान आयोजना गरिएको थियो । प्रधानमन्त्री ओलीले मूर्तिहरु स्वस्तीवाचनसहित हस्तान्तरण गरेका हुन् ।

राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर चितवनको अयोध्याधाममा स्थापना गर्ने तयारी भएको छ । पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा (भोलि) बुधबार अनावरण गर्न लागिएको हो । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको धार्मिक र्यालीसहित सीता-रामका मूर्तिहरुलाई मंगलबार देवघाटमा लगेर राखिनेछ ।

रथमा मूर्ति राखेर ५ सयभन्दा धेरै गाडीसहितको कलशयात्रा तथा शोभायात्रा चितवन पुग्नेछ । प्रधानमन्त्री ओलीले गएको वर्ष त्रेतायुगका मर्यादापुरुषोत्तम रामको जन्म अयोध्यापुरीमा भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै उनले माडीका पालिकाका जनप्रतिनिधिहरुलाई काठमाडौं बोलाएर अयोध्यापुरीमा राममन्दिर बनाउन निर्देशन दिएका थिए । 

प्रतिक्रिया