प्रधानाध्यापकले घरका लागि सालको पात टिप्न विद्यार्थीलाई जंगल पठाएपछि..

शर्मिला गुरुङ

प्युठान, २१ चैत्र : प्युठानको मल्लरानी गाउँपालिका–५ स्थित भूमि विकास आधारभूत विद्यालयकी प्रधानाध्यापक यशोधा श्रेष्ठले विद्यार्थीलाई आफ्नो घरका लागि सालको पात टिप्न जंगल पठाएकी छिन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सागर रिजालले लेखेका छन् ।

पुण्यकर्ममा दलितले छोएको पात चल्दैन भनेर विभेद गरेपछि उनीमाथि दलित संघर्ष समितिले प्रहरीमा मुद्दा दर्ता गराएको छ ।

गत २८ फागुनमा प्रधानाध्यापक श्रेष्ठका बुबाको १३औँ पुण्यतिथि थियो । त्यसको अघिल्लो दिन २७ फागुनमा श्रेष्ठले विद्यालयमा फोन गरिन् र विद्यार्थीलाई सालको पात टिपेर भोलिपल्ट पुण्यतिथिमा आफ्नो घर पठाइदिनू भनिन् ।

फोनमा श्रेष्ठले बाहुन, क्षेत्रीका छोराछोरीलाई मात्र पठाउनू, दलित विद्यार्थीलाई नपठाउनू भनेको विद्यार्थीहरूले बताएका छन् ।

२८ फागुनमा विद्यालयबाट आधा घन्टाभन्दा टाढा रहेको प्रधानाध्यापकको घरमा गैरदलित विद्यार्थी पात लिएर पुगे । उनीहरूलाई घरमै पितृप्रसाद दिइयो । सोही दिन प्रधानाध्यापक श्रेष्ठले स्कुल पुगेर दलित विद्यार्थीलाई पनि पितृप्रसाद बाँडिन् ।

त्यसपछि यस घटनाबारे चर्चा सुरु भयो । दलित विद्यार्थीले घर पुगेर प्रधानाध्यापकले आफूहरूलाई भेदभाव गरेको बताए । केही दिन गाउँमै यसबारे छलफल भयो।

अन्ततः गत मंगलबार जिल्ला प्रहरी कार्यालय प्युठानमा प्रधानाध्यापक श्रेष्ठले जातीय विभेद गरेको भन्दै जाहेरी दर्ता भएको छ ।

प्रतिक्रिया