प्रभावकारी बन्दै जन्म र मृत्युमा चामल दिने कार्यक्रम

अस्मिता बेल्बासे

मान्म, २ फागुन : कर्णालीमा जन्म र मृत्युमा निःशुल्क २० किलो चामल दिने कार्यक्रम प्रभावकारी हुँदै गएको छ ।

विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका संसद्मा ४८ बुँदे कार्यक्रम प्रस्तुत गर्दै बुँदा नं २७ मा कर्णाली क्षेत्रमा जन्म र मृत्युमा प्रतिपरिवार निःशुल्क चामल दिने घोषणा गरेका थिए ।

तत्कालीन अवस्थामा निकै विरोध भएको जन्म र मृत्युमा चामल दिने कार्यक्रम अहिले भने निकै प्रभावकारी बन्दै गएको छ । कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोटमा जन्म र मृत्यु हुँदा चामलसहित ढुवानी खर्चवापत रु एक हजार दिने गरिएको छ ।

कालिकोटका जन्म र मृत्युमा चामल लिनेको सङ्ख्या निकै बढी रहेको छ । कर्णालीका अन्य जिल्लाभन्दा जनसङ्ख्या पनि बढी भएका कारणले त्यहाँ चामल लिनेको सङ्ख्या बढी रहेको खाद्य संस्थान शाखा कार्यालय कालिकोटले जनाएको छ ।

कालिकोटमा चालू आर्थिक वर्षका सात महिनामा जन्मवापत १९० क्विन्टल २० किलो, मृत्युपश्चात ८१ क्विन्टल ८० किलो चामल गएको र त्यसवापतको रु २१ लाख दुई हजार २०० खर्च भएको खाद्य संस्थान शाखा कार्यालय कालिकोटका प्रबन्धक निर्मलकुमार थापाले बताए। आव २०७५/७६ मा जन्म, मृत्युमा २७० क्विन्टल चामल गएको र रु २७ लाख १५ हजार ७१० खर्च भएको प्रबन्धक थापाले बताए।

प्रतिक्रिया