धुलो, हिलोले पहिचान गुमाउँदै नगरकोट

राष्ट्रिय समाचार समिति

नगरकोट (भक्तपुर), १३ साउन : सूर्योदयको दृश्यावलोकनका लागि नेपालमा मात्र नभई विश्वमै प्रसिद्धि कमाएको नगरकोट हाल धुलो र हिलो उदय गराउने थलोका रुपमा पहिचान फेर्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमशृृङ्खला, वरिपरि देखिने सुन्दर एवं हरिया डाँडा र उपत्यकाको सबैजसो भाग हेर्न पाउनु नगरकोटको अर्को आकर्षण हो । यही आकर्षणले छ वर्ष अघिसम्म नेपाल आउने प्रायः पर्यटक नगरकोट पुग्ने गर्दथे ।



छ वर्षअघि शुरु भएको कमलविनायक–तेलकोट–नगरकोट १७ किमी सडक विस्तार, स्तरोन्नति र कालोपत्रको काम तीन पटक म्याद थपिँदा पनि ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन । सडक निर्माणमा प्रगति हुन नसकेपछि पर्यटकीयस्थलको यो मार्ग धुलो र हिलो उदय गराउने स्थलका रुपमा विश्वमै बदनाम हुन लागेकामा स्थानीयवासी चिन्तित छन् । चाँगुनारायण नगरपालिकाकै गौरवको रुपमा रहेको नगरकोटमा जीर्ण सडकका कारण पर्यटक आवागमन घट्न थालेको छ । नगरकोट जाने पर्यटक धुलिखेललगायत अन्यत्र जान थालेपछि यहाँको पर्यटन व्यवसाय धराशायी बन्न पुगेको छ ।

रोजगारीको अवसर गुमेपछि हजारौं स्थानीयवासीलगायत कामदारलाई विदेशमा श्रममा बेच्न बाध्य बनाइँदैछ । सडकको दुरावस्थाका कारण पर्यटक धुलिखेलका साथै देशका अन्य भागमा जान थालेपछि नगरपालिकाले प्रतिनिधिसभाको विकास तथा प्रवधि समितिमा उजूरी ग¥यो । नगरपालिकाले उजूरी गरेपछि आइतबार समितिको समूहले स्थलगत रुपमा यो सडकको अनुगमन ग¥यो ।

अनुगमनपछि सभापति कल्याणीकुमारी खड्काले राजधानीमै रहेको देशको प्रमुख पर्यटकीय स्थलमध्ये पर्ने नगरकोट जाने सडकको यो अवस्था हुनुमा जिम्मेवार सबै निकायका अधिकारीलाई कारवाहीका लागि समितिले निर्णय गर्ने चेतावनी दिनुभयो । “पूर्व तयारीका काम नगरी सडक ठेक्का लगाउने, ठेक्का लागेको सडकमा निर्माण व्यवसायीले समयमा काम शुरु नगर्ने, ठेक्का लागेको छ भनी मर्मत नहुँदा ठूला खाडल बनी सडकमा आवतजावत गर्न नसकिने अवस्था छ, यसतर्फ सरोकार भएका निकायको ध्यान जान सकेको छैन”–उहाँले भन्नुभयो ।

ठेक्का सम्झौता हुने बित्तिकै २० प्रतिशत ठेक्कावापत दिइएको रकम९मोबिलाइजेसन० लिएर निर्माण व्यवसायीले अन्यत्र उपयोग गर्दा पनि समस्या आइपर्ने गरेको सभापति खड्काले सुनाउनुभयो । समितिले पूर्व तयारी नगरी ठेक्का नगर्न सरकारलाई निर्देशन दिइसकेकाले अब कारवाही गर्ने भएको छ । आयोजनाका कागज टेबलमा राखेर लामो समय निर्णय नदिने अधिकारीलाई पनि कारवाहीको दायरामा ल्याउने निर्णय समितिले गरेको छ । सडक तलबाट माथितिर निर्माण भइरहेको छ । तलबाटमाथि बनाउने कि माथिबाट तल प्राविधिक रुपमा के सही हो भन्ने आयोजनाले निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो ।

सडक आयोजनाको चौमासिक कार्ययोजना समितिमा पेश गर्न पनि नगरकोटमा भएको अन्तक्र्रियापछि सभापति खड्काले निर्माण व्यवसायी र आयोजना कार्यालयलाई निर्देशन दिनुभयो । सांसद महेश बस्नेतले सन् २०२० को नेपाल भ्रमण वर्षअघि नै यो सडक निर्माण सम्पन्न नभए देशले घाटा व्यहोर्नुपर्ने बताउनुभयो । सडक बिग्रेका कारण नगरकोटले यसअघि दुई ठूला अवसर गुमाएको उल्लेख गर्नुहुँदै उहाँले भक्तपुरका पाँच अलपत्र आयोजनामध्ये चारको समाधान जिल्लास्तरबाटै भएको सुनाउनुभयो ।

“कमलविनायक–नगरकोट आयोजनालाई जिल्लाको दबाबले भ्याएन, यो भिरालोको सडक भएकाले कालोपत्रमाथि आसफाल्ड राखिनुपर्छ, सडक विस्तारका लागि जग्गा लिँदा पर्खाल लगाउनुपर्छ भनी तलको लागत अनुमान नगरी माथिको मात्र काट्ने प्राविधिक प्रतिवेदन बनाउँदा पनि काममा अवरोध भएको छ”–सांसद बस्नेतले भन्नुभयो । सांसद रामबहादुर विष्टले स्थानीयवासीले शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएकाले काममा ढिलाइ भएकामा कुनै निकायले पनि दबाब दिन नसकेको गुनासो गरेकाले गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो । “काम नगर्ने निर्माण व्यवसायीलाई ठूला मान्छेले संरक्षण गरेसम्म विकास र समृद्धि सम्भव छैन, यस विषयमा समितिको ध्यानाकर्षण भएकाले छलफल गरेर सरकारलाई कडा निर्देशन दिन्छ”–उहाँले भन्नुभयो ।

सांसद गणेश पहाडीले दुई वर्षमा सकिनुपर्ने सडक छ वर्षमा ६५ प्रतिशत मात्र भौतिक प्रगति हुनु दुःखद् रहेको बताउँँदै आयोजना पूर्व तयारी नगरी ठेक्का गर्दा यस्तो परिणाम आएको हुनसक्ने उल्लेख गर्नुुभयो । सांसद यज्ञराज सुनुवारले कमलविनायक–नगरकोट सडक स्थानीयवासीको मात्र नभई विकास तथा प्रविधि समितिको पनि चासोको विषय बनेकाले अलपत्र नहुने प्रतिबद्धता जनाउनुभयो ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले विश्वमै चिनिएको पर्यटकीय स्थल नगरकोटको सडक वर्षौंदेखि अलपत्र हुँदा अन्तर्राष्ट्रियस्तरमै विरोध, चर्चा र बेइज्जत भइरहेकोतर्फ सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो । “सम्झौता भएको ३० महीनासम्म रुख काट्न नपाएको भनी गुनासो गर्ने निर्माण व्यवसायीले रुख काट्नु नपर्ने स्थानमा पनि काम गरेनन्,” उहाँले भन्नुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सडक किनारमा बन्दै गरेका ड्रेन भत्कन थालिसकेका लगायतका धेरै समस्या आइरहेकाले दैनिक अनुगमन गर्न सर्वपक्षीय सहमतिमा उपसमिति गठन गरिएको जानकारी दिनुभयो । सडक निर्माण गर्दा ठाउँठाउँका कल्भर्ट थुनेर सडकमा पानी आउने गरेकाले पनि बिग्रिएको छ ।

पानी परेका बेला कमलविनायकमा सडकमै खोला बग्ने गरेको गुनासो स्थानीयवासीको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले दुई वर्षमा सडक निर्माण गर्ने सम्झौता गरेको निर्माण व्यवसायी ३० महीनासम्म रुख काट्न नपाउँदा के हेरेर बसेको भनी प्रश्न गर्नुभयो । उहाँले सडकको दूरावस्थाका कारण २०७४ असोजमा दुर्घटनामा परी निधन भएका स्थानीय वृद्धको परिवारलाई कसले क्षतिपूर्ति दिने भनी समिति सभापति एवं सांसदहरुसँग जिज्ञासा राख्नुभयो ।

सडक सुधार तथा विकास आयोजना निर्देशनालयका प्रमुख सुशीलबाबु ढकालले भारतीय एक्जिम बैंकको एक प्रतिशत ऋण सहयोगमा सडक निर्माण सम्झौता भएको बताउनुभयो । सम्झौता अनुसार भारतीय निर्माण व्यवसायी समेत उपस्थित हुनुपर्ने व्यवस्था रहेको उहाँले सुनाउनुभयो । निर्माण व्यवसायीका आयोजना व्यवस्थापक सुदन गौलीले आयोजनाले रु नौ करोड निकासा रोकेकाले काममा ढिलाइ भएको दाबी गर्नुभयो । निर्देशनालयका योजना प्रमुख जगत प्रजापतिले ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको बताउनु भएकामा व्यवस्थापक गौलीले भने संरचनाका ९५ प्रतिशत काम सकिएको दाबी गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीयवासी टीकाराम लामिछाने, दिनेश लामिछाने, धीरज वाइवा, मोहनवीर श्रेष्ठ, यादव अधिकारी, पर्यटन व्यवसायी धनबहादुर लामा, सडक निर्माण दबाब समूहका अध्यक्ष राजकुमार लामिछानेलगायतले सूर्योदयको दृश्य हेर्न आउने आन्तरिक एवं बाह्य पर्यटक धुलो र हिलोको दृश्यका साथ सडकको बेहाल देखेर फर्किंदा नकारात्मक सन्देश गइरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

निर्माण व्यवसायीसँगै सडक आयोजनाका कर्मचारीलाई कसैले प्रभावमा पारेर नगरकोटको सडक नबनाउन दबाब दिएको हुनसक्ने स्थानीयवासीको भनाइ थियो । समितिले आइतबार स्थलगत अनुगमन गर्ने खबर सार्वजनिक भएपछि निर्माण व्यवसायीले शनिबार रातारात खाल्डाखुल्डी पुरेको थियो । विसं २०७० मा नै सम्झौता भएको सडकको लागत रु ३७ करोड ८७ लाख छ । रासस

प्रतिक्रिया