प्रहरीको कडाइ: बिहानै आदेश उल्लङ्घन गर्ने ६०० लाई ‘होल्ड’

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १६ चैत: कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने ६०० भन्दा बढीलाई आज बिहानै प्रहरीले ‘होल्ड’ गरेर सचेतना कक्षा दिएको छ । पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने भएकाले शनिबारदेखि प्रहरीले उल्लङ्घनकर्तालाई जहाँ भेटिन्छ त्यहाँ केही घण्टा होल्ड (रोकेर राख्ने) र सचेतना दिएर जहाँबाट आएको हो त्यतै फर्काउन थालेको हो ।

आज बिहान ७ः३० बजेसम्म्मा मात्रै ५१२ पुरुष र १०५ महिलालाई यसरी सडकमै होल्ड गरेर राखिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । उनीहरुलाई सामाजिक दूरी कायम गरी दुईदेखि तीन घण्टा होल्ड गरिने र रोगको बारेमा जानकारी गराइने छ ।

सवारीसाधन भने १०३ वटालाई होल्ड गरेर राखिएको प्रहरीले जनाएको छ । प्रहरी नायब महानिरीक्षक पोखरेलले उपत्यकाको तीनै जिल्लामा उक्त नियम लागू गरिएको जानकारी दिनुभयो । आदेश उल्लङ्न गर्नेविरुद्ध कारवाहीको नयाँ नियमस्वरुप होल्ड गरेर सचेतना शिक्षा दिन थालिएको उहाँले जानकारी दिनुभयो ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी उक्त आदेश जारी गरेको थियो । आदेश चैत १८ गते बिहानसम्म लागू हुने छ । अहिलेसम्म नेपालमा पाँच जनामा उक्त भाइरसको सङ्क्रमण देखिएको छ । पाँचै जना विभिन्न मुलुकबाट फर्किएका नेपाली हुन् ।

प्रतिक्रिया