सुनकाण्डमा मुछिएर चर्चित बनेका संजेलको दादागिरी, पार्किङ्ग लटभित्रै फिल्मी स्टाइलमा लिम्बुको रामधुलाई

अस्मिता बेल्बासे

काठमाडौं, २६ साउन : सत्य सेवा सुरक्षणमको प्रतीक मानिनु पर्ने नेपाल प्रहरीकै विभिन्न ओहदाका व्यक्तिहरु गैरकानुनी कार्य र अपराधहरुमा संलग्न रहने गरेका समाचारहरु पटक-पटक सञ्चार माध्यममा सार्वजनिक हुँदै आएका छन् । पछिल्लो समय यस्तै एउटा घटना घटेको पीडितले पिएनपि खबरलाई बताएका छन् ।

स्वतन्त्र राष्ट्रिय युवा तथा खेलकूद अभियानका अध्यक्ष सेफर्ड लिम्बूमाथि नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेलको एक समूह मिति २०७७ साल साउन २३ गते गुण्डागर्दी शैलीमा प्रस्तुत भएको पीडितले बताएका छन् ।

पीडित भनिएका सेफर्ड लिम्बू भक्तपुर नपा १ दुधपाटी बस्ने सत्यराम दुवालसँग चिनजानको व्यक्तिबाट पुरानो गाडी खरिद गर्ने सम्बन्धमा कोटेश्वरको भाटभटेनीमा भेट गरि कुराकानी हुँदै गर्दा प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल समेत भएर प्रहरीले निर्मम कुटपिट गरेको सेफर्ड लिम्बूले बताए ।

उनले भने “म कोटेश्वरको भाटभटेनी सुपर मार्केटको भुइँ तल्लाभित्र पस्नासाथ बायाँतर्फको खुला सार्वजनिक स्थानमा पुगेकोमा एक्कासी मैले नचिनेका तर पछि थाहा पाए बमोजिम नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेलको नेतृत्वमा आफूलाई प्रहरी बताउँदै आएको अन्दाजी १०/१२ जनाको समूहले सत्यराम दुवाललाई एक्कासी हातपात र कुटपिट गर्न थाल्दा म आफू आश्चर्यचकित भई किन हातपात गर्नु भएको भनी सोधी छुट्याउन खोज्दा मलाई समेत हामी प्रहरी हौं तँ किन बोल्छस् भन्दै उल्टै आफू प्रहरी बताउने निज सञ्जेलको समूहले कुटपिट समेत गरे ।”

सेफर्ड लिम्बूले भने “मैले एक पटक पनि हात फर्काइनँ । मलाई कुट पिट गर्दा छेकेर मात्र बसेँ । म जस्तो खेलाडी नभएर सामान्य मान्छे भएको भए मृत्यु समेत हुनसक्ने गरी हेलमेट लगायतले टाउकै टाउकामा पिटे । मलाई भकुण्डोजस्तो बनाए ।”

लिम्बुका अनुसार कोटेश्वर चोकको प्रहरीमा कारवाही गर्न भनी फोन गरे पश्चात प्रहरीले उल्टै उनलाई नै नियन्त्रणमा लिएको तर सञ्जेलको समूहलाई छोडिदिएको बताएका छन् । कुरा प्रहरी कार्यालयमा बताइ सकेपछि बिना कारण कुटपिट गर्ने सञ्जेलको समूहलाई कारवाही गर्न उनले निवेदन समेत दिइसकेका छन् ।

तर उल्टै कोटेश्वर प्रहरी कार्यालयका इन्स्पेक्टर विजय लामाले निज सञ्जेललाई बचाउन बोलाएर छलफल नगराई मिल्न र घटना ढाकछोप गर्न दबाब दिएपछि सेफर्ड लिम्बूले प्रहरी प्रधान कार्यालयमा सोझै प्रहरी महानिरिक्षकलाई सम्बोधन गरी निवेदन समेत दिएको बताएका छन् ।

उनले आजै आफ्नो कानुन व्यवसायी मार्फत प्रहरी प्रवक्तासँग समेत कुरा गरेको र प्रवक्ताले सो बारेमा आफू अहिले बाहिर रहेकोले सम्पूर्ण कुरा बुझी जवाफ दिने बताएको बताए । बालकृष्ण संजेल समुह र सत्यराम दुवाल बीचको सम्बन्ध, रिसिबी र लेनदेन बारे लिम्बु आफु अनभिज्ञ रहेको बताउछन ।
लिम्बु भन्छन् “मलाई दुवालले आफन्तको पुरानो गाडी किन्ने सम्बन्धमा कुराकानी गर्न भनी सो स्थानमा बोलाएका थिए। मलाई जति पटक निजहरुले कुटपिट गरे पनि मैले उल्टो फर्काएर कुटपिट गरेको छैन ।”

त्यस घटनाको सम्पूर्ण दृश्य भाटभटेनी सुपर मार्केटको सो स्थानको सिसिटिभी फुटेज मगाई हेर्न माग गर्दा पनि सो फुटेज कोटेश्वर प्रहरीको सक्रियतामा डिलिट गर्ने प्रयास भइरहेको भन्दै त्यसका विरुद्ध समेत सोझै प्रहरी महानिरिक्षकलाई निवेदन गरिएको उनले बताए ।

यदि समयमा विभागीय कारवाही शुरु नभएमा सरकारी वकिलको कार्यालय मार्फत जाहेरी दिई कारवाही प्रक्रियामा जाने पनि उनले बताए । हाल यो विषयमा विशेष प्रहरी व्युरो र प्रहरी प्रधान कार्यालयले समेत चासो लिएको बताइएको छ ।

सञ्जेलको समूहले त्यहाँ रहेको अर्को समूहलाई अनावश्यक दवाव दिई सो समूहले भुक्तानी पाउनु पर्ने चेकको भुक्तानी नपाएपछि निजहरुबाट उक्त चेक खोसेर च्यातिदिने र पीडित पक्षको तर्फबाट हालिऐको मुद्दा फिर्ता लिन दवाव दिन कुटपिटमा उत्रिएको प्रहरी कार्यालयमा कुरा हुँदा आफूले थाहा पाएको उनले बताएका छन् । 

प्रतिक्रिया