प्रहरी पेशाप्रति बढ्दो निराशा‚ दैनिक सातजनाले दिन्छन् राजीनामा

admin

काठमाडौं, ७ माघ :नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ। विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डिआइजी)देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन्।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार दैनिक रूपमा सातजनाले राजीनामा दिने गरेको पाइएको हो। पर्याप्त सेवासुविधा नहुनु, राम्रो जागिरको अवसर पाउनु, संगठनमा राजनीति हावी हुनु, लामो समयसम्म बढुवा रोकिनुलगायतका कारण प्रहरीमा जागिरप्रति निराशा बढेको पाइएको छ। कतिपयले भने विदेश जानेकै लागि राजीनामा दिने गरेका छन्। तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा २ हजार ५६४ जना प्रहरीले राजीनामा दिएका छन्।

राजीनामा दिनेमा tLg प्रहरी नायब महानिरीक्षक (डिआइजी), २ प्रहरी नायब उपरीक्षक (डिएसपी), ८ प्रहरी निरीक्षक (इन्स्पेक्टर), १०४ सई, ३०७ असई, १ हजार ८०२ हवलदार, ३०७ जवान र ३१ जना कार्यालय सहयोगी छन्। आर्थिक वर्ष २०७५/७६ मा ३ प्रहरी उपरीक्षक (एसपी), ६ डिएसपी, १५ इन्स्पेक्टर, ९९ सई, ३५७ असई, २ हजार ८२ हवलदार, ४२९ जवान र ८२ जना कार्यालय सहयोगीले राजीनामा दिएका छन्। यसैगरी, चालु आवको ९ पुससम्म १ हजार २ सय ९ जनाले राजीनामा बुझाएका छन्।

राजीनामा दिनेमा २ डीएसपी, ६ इन्स्पेक्टर, ८१ सई, १८९ असई, ७४२ हवलदार, १६० जवान र २९ जना प्रकास छन्। प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएसँगै असन्तुष्ट डिआइजी रमेश खरेलले राजीनामा दिएका थिए। खरेलले महानिरीक्षकमा इच्छा देखाउँदै आए पनि खनाल महानिरीक्षकमा नियुक्त भएपछि योग्यताको कदर नभएको भन्दै राजीनामा दिएका थिए।

त्यसअघि डिआइजी नवराज सिलवालले सरकारले प्रकाश अर्याललाई महानिरीक्षक बनाएपछि अवधि बाँकी रहँदै जागिर छाडेका थिए। सिलवालले महानिरीक्षकका लागि आफू पहिलो दाबेदार भएको भन्दै त्यसबखत असन्तुष्टि देखाउँदै राजीनामा दिएका थिए। उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रतिनिधिसभा सदस्य बनेका छन्।

प्रतिक्रिया