प्रहरी महानिरीक्षकद्वारा भोजुपर घटनाबारे राज्य व्यवस्था समितिमा जानकारी

शर्मिला गुरुङ

काठमाडौँ, २५ असार  :  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानकारी गराउनुभएको छ ।

आज बिहान बसेको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र डिला सङ्ग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनालले सो घटनाबारे जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक विप्लव समूहले गोली प्रहार गरेपछि घटना भएको हो । “प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्र्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईलाई पनि गोली लाग्न पुग्यो”, उहाँले भन्नुभयो । गोली लागेका दुवै जनाको उपचारका लागि अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।

उक्त घटनामा प्रहरी जवान थमनाथ भट्टराईको काँधमा गोली लागेको समेत खनालले जानकारी दिनुभयो । उहाँले सो क्रममा ठूलो चाइनिज पेस्तोल एक थान, त्यसको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने छ राउण्ड गोली बरामद भएको पनि उहाँले बताउनुभयो ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार हतियारसहित केही व्यक्ति लुकिछिपी बसेको सूचनाका आधारमा आज ड्युटीमा खटिएको प्रहरीमाथि हतियारधारी समूहले एक्कासि फायर गरेपछि प्रहरीले जवाफी फायर गर्दा उक्त घटना भएको र घटनामा अन्य दुई जना प्रहरी जवानसमेत घाइते भएको जनाएको छ । उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

उक्त समूहका अन्य चार÷पाँच जना फरार रहेकाले खोजतलास जारी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

प्रतिक्रिया