प्राथमिकतामा परेन कोरोना, संक्रमण घटेको देखाउँदा जनता खतरामा पर्दैछन् : डा. पाण्डे (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, ३० असार : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण घट्दै गएको दाबी गरिएको छ । देशभर संक्रमित संख्या घट्नुको मुख्य कारण आइसोलेसनमा बसेकाहरुको संख्या घट्दै जानु र पर्याप्त परीक्षण नगरिनु हो । उपत्यकामा भने मानिसहरु भित्रिनुका साथै विदेशबाट आउनेहरुमा पनि संक्रमण देखिएपछि संक्रमितको ग्राफ उकालो लागेको हो ।

सरकारले कोरोना परिक्षणको दायरा घटाएर कोरोना संक्रमित संख्या कम हुँदै गएको छ भनेर खुशी मनाउन थाल्यो भने भोलि परिस्थिति भयावह बन्न सक्छ । विज्ञलगायत आमसर्वसाधारण समेतले संक्रमण घटेको सरकारी दाबीप्रति आशंका व्यक्त गर्दै आएका छन् ।

कोरोनाभाइरसको सन्दर्भमा रहेर पिएनपी खबरसँगको अन्तर्वातामा बोल्दै जनस्वाथ्यविद् डा. रवीन्द्र पाण्डेले संक्रमण दर नघटेको बताएका छन् । दुई लाख भन्दा बढीको संख्यामा क्वारेन्टाइनमा बसेका नागरिकलाई विना परीक्षण घर पठाएको सरकारले अहिले संक्रमितसँगको कन्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री भएका व्यक्ति नै नभएका कारण कोरोनाको परीक्षणसमेत घटेको दाबी गरेको छ ।  नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने विगत केही दिनयता संक्रमितको संख्या घटेको सरकारी आंकडा छ । महामारी शास्त्रको नियमअनुसार यो प्राकृतिक देखिँदैन ।

भारतबाट आउने नेपालीको संख्या घट्नु, क्वारेन्टाइनमा बस्नेको संख्या घट्नु तथा आम नागरिकले सुरक्षा सतर्कता अपनाउनु सकारात्मक विषय हो भने रिपोर्ट आउन धेरै दिन लाग्नु, जसले गर्दा नमूनामा रहेको आरएनए नष्ट भएर संक्रमितको रिपोर्ट पनि नेगेटिभ देखिन्छ, यसले गर्दा कन्ट्याक्ट ट्रेसिङ निष्प्रभावी हुनु, परीक्षणको मात्रा घट्दै जानु, समुदायमा नगण्य परीक्षण हुनु, संक्रमितको संख्या पारदर्शी नहुनु तथा कम गुणस्तरका परीक्षण सामग्रीको प्रयोग गर्नु आदिले संक्रमितको संख्या कम देखिए पनि यथार्थमा समुदायमा संक्रमितको संख्या बढ्दो ट्रेन्डमा रहेको उनी बताउँछन् ।

अन्तर्वातामा बोल्दै  डा. पाण्डेले संक्रमण दर नघटेको बताएका छन् । ‘इपिडिमियोलोजी अर्थात् महामारी शास्त्रका अनुसार यस्तो किसिमको महामारीमा संक्रमणको संख्या बढ्दै-बढ्दै गएर पिकमा पुग्ने रत्यसपछि केही समय पिकमै कायम रहँदै गर्दा त्यसपछि मात्रै तल झर्दै-झर्दै जान्छ र कम हुने तर, नेपालको स्थिति त्यस्तो देखिँदैन, उनले भने ।’

‘महामारी घटेको छ कि छैन भन्ने केही आधारहरू हुन्छन् । यदि हामीले परीक्षणको दर धेरै बढाएका थियौँ र त्यसो गर्दा पनि संक्रमित कम देखिएका थिए भने संक्रमण दर उच्च बिन्दुमा पुगेर अब झर्दैछ भन्ने बुझिन्थ्यो तर अहिले त्यस्तो होइन, उनले भने । पहिले भारतबाट आएकाहरुलाई टेष्ट गरियो, अहिले भारतबाट आउनेहरुको संख्या एकदम कम छ । तर, पनि भारतबाट आउनेहरुको मात्र जाँच गरियो तर ट्राभल हिस्ट्री र कन्याक्ट ट्रेसिङ गरिएन । उनीहरुको सम्पर्कमा आएकाहरुको टेष्ट गर्नुपर्थ्यो, गरिएको छैन ।’

विभिन्न जिल्लाबाट उपत्यका भित्रिनेको संख्या बढिरहेको भन्दै उनले यसरी आउनेहरुको परीक्षणमा ध्यान दिन आग्रह गरे । क्वारेन्टिनमा रहेकाहरुलाई आरडीटी गरेर धमाधम घर पठाउन थालिएकोमा उनले चिन्ता व्यक्त गरे । सरकारले क्वारेन्टिन निर्माण गर्न नसक्ने अवस्थामा परीक्षणको दायरा बढाउनु नै राम्रो हुने उनको तर्क छ ।

डा. रवीन्द्र पाण्डे भने जनघनत्व बढी भएकाले काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्नसक्ने खतरा औंल्याए । सरकारी तथ्यांकलाई नमुनाका रुपमा मात्रै बुझ्नुपर्ने उनको भनाइ छ । ‘काठमाडौं उपत्यकामा ४० लाख जनसंख्या छ । जनघनत्व बढी भएका सहर कोरोना संक्रमणको हटस्पट बन्ने जोखिम बढी हुन्छ,’ उनी भन्छन, ‘उपत्यकामा एकदम न्यून मात्रामा कोरोना परीक्षण भएको छ । जति बढी परीक्षण भयो त्यति बढी संक्रमित देखिने हो । त्यसैले सरकारले देखाएको तथ्यांकलाई नमुनाका रुपमा बुझ्नुपर्छ ।’

उनले अस्पतालमा उपचार गर्न आएका, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसहित उपत्यकाका प्रत्येक ठाउँमा फाट्टफुट्ट संक्रमित देखिएको तथा ट्राभल हिस्ट्री समेत नभएकालाई देखिनुले संक्रमित तथा संक्रमितको सम्पर्कमा आएका व्यक्तिले धेरै जनालाई संक्रमण विस्तार भएको हुनसक्ने बताए ।

काठमाडौंका हरेक अस्पतालमा अप्रेशन, डेलिभरी गर्न पुगेकाहरूमा जाँच गर्दा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको डा. पाण्डेले बताएका छन् । डा. पाण्डेले भने, अहिले पनि उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका केही ठाउँमा संक्रमितहरु थपिने गरेका छन् । उनीहरुको कुनै ट्राभल हिस्ट्रीसमेत छैन । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको छ । योबाटै स्पष्ट हुन्छ काठमाडौं उपत्यकामा पनि कोरोनाको संक्रमण एक किसिमले फैलिरहेको छ ।

डा. पाण्डेले काठमाडौं उपत्यका २ सय ठाउँको ढलको टेष्ट गरेर संक्रमण के-कस्तो छ पत्ता लगाउन सकिने बताएका छन् । त्यस्तै, काठमाडौंका ४० लाख नागरिकको एक प्रतिशत करिब ४० हजार जनाको परीक्षण मात्र गर्‍यो भने पनि यो क्षेत्रमा संक्रमण कम छ कि बढी छ भन्न सकिन्छ ।

‘परीक्षणको दर घटिरहेको छ तर काठमाडौं उपत्यकामा समेत जोखिम बढ्दै गएको जस्तो देखिन्छ । यी विभिन्न तथ्यले अहिले संक्रमण घट्दै गएको भन्न सकिँदैन । डाटा नभइकन, परीक्षण नगरेरै नेपालमा कोरोना संक्रमण घट्दै गयो भन्न थाल्यौँ भने आम जनताले त्यही रुपमा बुझ्छन् अनि हामी असुरक्षित अभ्यास गर्दै जान्छौँ, माक्स नलगाई हिँड्छौँ, सामाजिक दूरी कायम गर्दैनौँ । हात धुने कुरालाई प्रायोटीमा राख्दैनौं, डा. पाण्डेले भने ।

अबको त्यसपछि अवस्था के हुन्छ ? सरकारले सोच्नु पर्ने हो उनी भन्छन् । ‘उनले भने छिमेकी मुलुक भारतमा अहिले संक्रमण तीव्र गतिमा बढेको छ । त्यहाँ जुलाईको अन्त्यसम्ममा पिकमा पुग्ने अनुमान गरिएको छ, नेपालमा पनि स्थिति त्यही नै हो । किनभने अहिले पनि हाम्रो सीमामा आवतजावत रोकिएको छैन ।’

सरकारले यस्तो समयमा ठूलो लापरबाही गरिरहेको डा. पाण्डेले बताए । ‘उनले भने कम्तीमा पनि सरकारले विदेशबाट आएकाहरुलाई अनिवार्य रुपमा २ हप्ता क्वारेन्टाइनमा राख्ने, त्यसक्रममा पिसिआर टेष्ट गर्ने अनि मात्र पोजेटिभ रिपोर्ट आएकाहरुलाई हस्पिटल भर्ना गर्ने र नेगेटिभ देखिएकाहरुलाई घर जान दिएको भए यस्तो डर त्रासको वातावरण हुने थिएन । अहिले त आकाश र जमिन दुवैबाट डर भयो । तर, सरकार कहिले सीमा विवाद, कहिले अध्यादेश त कहिले पार्टीको विवादमा फसिरहेको छ । कोरोना नियन्त्रण सरकारको प्राथमिकतामा परेकै छैन ।’

डा. पाण्डेले अन्तर्वातामा भने ‘कोरोनाका कारण जस्तो किसिमको डर त्रास पहिले थियो अहिले पनि कतिपय जिल्लाहरुमा कायमै रहेको मैले पाएको छु । उनीहरुसँग कुरा गर्दा अहिले जसरी सरकारले कोरोनाको संक्रमण दर घटेको भनिरहेको छ, त्यसलाई पत्याउने आधार नै छैन । अहिले सरकारले भनिरहेको कोरोनाको विवरण साँचो डाटा होइन कि भनेर धेरैले शंका गरिरहेका छन् । तपाईंलाई म एउटा उदाहरण पेश गर्न चाहन्छु। कोरोनाको महामारीका बेला अहिले विश्वमा पोलिटिक्स पनि फरक ढङ्गले चलिरहेको छ । जस्तो उत्तर कोरियामा कति जना संक्रमित छन् थाहा छैन, चीनको एक्जाक्ट डाटा पनि बाहिर आएको छैन ।’

डा. पाण्डेले वैज्ञानिकहरूको सुझावपछि डब्लुएचओले पनि हावाबाट कोरोना भाइरस सर्छ भन्ने प्रमाण फेला परेको भनेको बिषयमा यसलाई आम सर्वसाधारणले बुझ्न जरुरत भएको बताएका छन् । यो नयाँ तथ्य नभएको, पहिलेदेखि नै भन्दै आएको कुरा हो तर, बाटोमा वा बाहिर हिँड्दा, पसलमा बस्दा संक्रमित कोही छ भने उसले खोकेपछि वा हाच्छ्यूँ गरेपछि हावाबाट तैरिएर आएर सर्ने होइन, यो जहाँ बन्द कोठाहरू, हलहरु छन् एसी लगाएर पूरै झ्याल ढोका बन्द हुँदा पनि त्यस्ता ठाउँमा संक्रमण सरेको पाइएको बताएका छन् ।

उनले भने ‘झ्याल ढोका खुल्लै हुन्छ तर विदेशमा त्यस्तो हुँदैन । त्यहाँ कन्सटहरु हुन्छ, गीत गाउने, हुटिङ गर्ने, धेरै मानिसहरु सँगै डिनर गर्ने, कानेखुसी गर्ने गरिन्छ । हजारौँ जनाले एकै ठाउँमा व्यायाम गर्ने जिम सेन्टरहरु हुन्छ, त्यस्तो बेला तीव्र गतिमा श्वास फेर्ने हुन्छ । त्यस्तो ठाउँमा संक्रमितबाट निकै मात्रामा भाइरसहरु बाहिर निस्कन्छन् ।’

‘त्यस्तो ठाउँमा ठूलो भाइरसको कणहरु तल सतहमा खस्छ र निकै साना-साना कणहरु हावामा तैरिन्छ । कोठाभरि फैलिन्छ, र संक्रमितबाट अर्को ब्यक्तिमा श्वास लिँदा शरीरभित्र प्रवेश गर्न सक्छ । आँखा, नाक र मुखबाट सर्न सक्छ । त्यसकारण ३२ देशका २३९ जना वैवैज्ञानिकले पनि भनेको त्यही हो । फेस टु फेस कुरा गर्दा संक्रमण सर्ने होइन । त्यस्ता कोठाभित्र वा ठाउँमा सर्ने हो । यो सत्य हो त्यस्ता बन्द कोठामा सर्ने सम्भावना बढी हुन्छ । त्यही भएर हामीले झ्याल ढोका खुलै राख्ने गर्नुपर्छ। काठमाडौंको ढलको पानीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ, यसले एक किसिमको त्रास फैलिएको छ ।’

ढलको विषयमा आमजनमानसमा एक खालको भ्रम पाइएको बताउँदै उनले भने ‘स्पेनको बार्सिलोनाको ढलमा २०१९ को मार्चमा पनि कोरोना देखिएको थियो । २०१९ को नोभेम्बरमा ब्राजिलमा पनि परीक्षण गर्दा कोभिडको संक्रमण देखिएको थियो । विभिन्न रिसर्चहरुका अनुसार फ्रान्स लगायतका देशमा पनि त्यस्तो संक्रमण ढलमा देखिएको थियो ।’

‘नेपालको काठमाडौंमा पनि ४ ठाउँमा गरिएको परीक्षणमा २ ठाउँमा कोरोना भाइरसको संक्रमण देखिएको हो । काठमाडौंमा ९ वटा खोलाको २ सयदेखि ३ सय स्थानमा परीक्षण गरेपछि मात्र कुन समुदायमा संक्रमण छ । कुन समुदायमा छैन । त्यसपछि मात्र थाहा हुन्छ । उनले भने, जब संक्रमितको दिसा पिसाब ढलमा जान्छ त्यसमा भाइरसका टुक्राहरू पनि दिसा पिसाबसँगै जान्छ र त्यहाँको ढलमा कोरोनाको संक्रमण पाइने वा देखिने हो । त्यो ढल मिसिएको पानी कसैले खाइहाले पनि कोरोना सर्दैन, किनभने त्यो एक्टिभ भाइरस होइन । समुदायमा संक्रमण छ या छैन भन्ने थाहा पाउनलाई मात्र ढल परीक्षण गरिएको हो । त्यसकारण काठमाडौंमा डराउनुपर्ने स्थिति छैन ।’

उनले कोरोना भाइरस सर्न नदिन आफू सुरक्षित रहन अपनाउनुपर्ने नयाँ उपायहरू बताएका छन् । उनले भने ‘दोस्रो, सामाजिक दूरी कम्तीमा पनि ६ फिटसम्म कायम राख्नुपर्छ, भिडभाड भोजभतेर रेष्टुरेन्टमा नजाने, हातहरु नियमितरुपमा धुने, स्यानिटाइजरको उचित प्रयोग गर्ने गर्नुपर्छ । बन्द कोठाभित्र हावाको माध्यामबाट संक्रमण फैलने भएकाले हामीले आफ्नो कार्यालयभित्र झ्याल ढोका थप्ने र अरूसँग टाढा रहेर कुरा गरे पनि सुरक्षित रहन सकिन्छ ।’

‘देशमा एकदुई वटा केश हुदा हामी एकदमै डराएर लकडाउनमा बस्यौ तर अहिले यसलाई सामान्य हिसाबले लिन थालेका छौँ । यसरी सामान्य रुपमा बुझ्नु हुदैन । विश्वभर हेर्दा पनि अहिले संक्रमण झन् फैलने क्रममा छ । त्यसैले मेरो सुझाब छ । मर्निङ्वाक र इभिनिङ वाक पनि घरमै गर्ने गरौं । संक्रमणबाट आफू पनि बचौँ अरुलाई पनि बचाऔँ ।’

परीक्षणको दायरा बढाउनका लागि अभियान नै सञ्चालन गर्नु अत्यावश्यक रहेको उनी बताउँछन् । चीनले बेइजिङमा संक्रमित देखिनासाथ दिनमा दश लाखजनाको दरले परीक्षण गरेर कोरोना संक्रमण नियन्त्रणमा ल्याएको छ । त्यस्तै भारत लगायत देशमा सामुदायिक परीक्षण तीव्र गतिमा भइरहेको छ । जनघनत्व भएका शहर संसारमै जोखिममा छन् ।

उनले भने, ‘सरकारले यो तथ्य बुझेर समुदायमा युद्धस्तरमा परीक्षण गर्नु जरूरी छ । यस विषम परिस्थतिमा हामी सबै एकजुट भएर इमान्दारीपूर्वक देश र जनताको पक्षमा काम गर्नु जरूरी छ । कोरोना आफैं नियन्त्रण हुँदैन । हामी सबैले मिलेर यसलाई परास्त गर्ने हो ।’

सबैभन्दा ठूलो कुरा त युनिभर्सल माक्स सबैले सही तरिकाले लगाउने मात्र हो भने पनि ३०–५० प्रतिशतसम्म संक्रमण आफैँ नियन्त्रणमा आउन सक्छ भनिन्छ । मास्क प्रयोग गर्ने, सकभर व्यक्तिगत दूरी कायम गर्ने तथा हात धुने र स्यानिटाइजर प्रयोग गर्ने अभ्यासमा यो वर्ग सचेत देखिन्छ ।

बाँकी भिडियोमा हेर्नुस् ।

प्रतिक्रिया