प्रेम सम्बन्ध खुल्ने डरले आमा मार्न रु १२ लाख सुपारी,छोरीसहित चार पक्राउ

शर्मिला गुरुङ

काठमाडौँ, १६ जेठ  : आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा ६१ वर्षीय सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनाअनुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी आइतबार दिउँसो घाँटी रेटेर हत्या गरिएकी भट्टराईको मृतककी छोरी ईश्वरी भट्टराईको योजनाअनुसार भएको बताएको हो ।

प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय नागरिक अर्जुन कुमार भन्ने भोला कुमार, भारतकै मोहम्मद रहिश र मृतककी छोरी ईश्वरीलाई पक्राउ गरेको हो । प्रहरीले नौसादलाई धादिङको गजुरीबाट आइतबार साँझ सात बजे र भोला कुमार र मोहम्मद रहिसलाई राति तीन बजे मकवानपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । मृतककी छोरीलाई भने भक्तपुरबाट पक्राउ गरिएको हो ।

पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले मृतककी छोरी ईश्वरीले आफ्ना प्रेमी नौसादसँग भएको प्रेम सम्बन्धबारे आमाले थाहा पाउने र आफ्नो प्रेममा आमाले विरोध गर्ने डरले आमालाई मार्ने योजना बनाएको अनुसन्धानमा खुलेको बताउनुभयो ।

“आमालाई मार्नका लागि ईश्वरीले रु १२ लाख दिने सहमतिअनुसार नौसादले एक्लै मार्न नसक्ने भएकाले भारतबाट साथी बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । घटनामा संलग्नमध्ये भोला कुमारले हात समाउने, मोहम्मद नौसादले मुख थुन्ने र मोहम्मद रहिसले घाँटी रेटेको अनुसन्धानमा खुलेको थापाले बताउनुभयो । मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया