प्रेस र मानवाधिकारमाथि अङ्कुश लगाउन खोजियो : देउवा

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ११ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले विभिन्न विधेयक ल्याएर स्वतन्त्र प्रेस र मानवाधिकारमाथि अङ्कुश लगाउन खोजेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन र अन्तरराष्ट्रिय पत्रकार महासङ्घको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यशाला गोष्ठीको उद्घाटनमा उहाँले स्वतन्त्र प्रेस र मानवाधिकारमाथि अङ्कुश लागे नागरिक अधिकार कुण्ठित हुने बताउनुभयो ।

सभापति देउवाले आफ्नो पार्टी लोकतन्त्रको रक्षाका लागि स्थापना भएको उल्लेख गर्दै विगतदेखि नै लोकतन्त्रको रक्षाका लागि विभिन्न लडाइँ लडेको र अब पनि यसमा सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा कांँग्रेस नेता डा मीनेन्द्र रिजालले मिडिया काउन्सिल, सूचना प्रविधि, विज्ञापन नियमन, मानवाधिकार र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक तथा कानूनका केही व्यवस्था संविधानको भावना र मर्मविपरीत भएको आरोप लगाउनुभयो ।

अन्तरराष्ट्रिय पत्रकार महासङ्घका एशिया प्रशान्त क्षेत्रीय निर्देशक जेन वर्थिङ्टन, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष बाला अधिकारीलगायतले पछिल्लो समयमा प्रेसमा देखिएका चुनौती र युनियनजस्ता संस्थाको भूमिकाका बारेमा आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया