प्रेस लोकतन्त्रको अक्सिजन हो : पूर्वराष्ट्रपति डा यादव

राष्ट्रिय समाचार समिति

जलेश्वर, १ मङ्सिर : पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रेस लोकतन्त्रको अक्सिजन भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको नवनिर्मित भवनको प्रथम तल्लाको उद्घाटन गर्नुहुँदै आज उहाँले जुन देशको प्रेस जति बलियो र स्वतन्त्र हुन्छ त्यहाँको लोकतन्त्र त्यति बलियो हुने गरेको बताउनुभयो ।

उहाँले देशको समुचित विकासमा स्वतन्त्र प्रेसले निक्कै महत्वपूर्ण भूमिका खेलेको हुनाले प्रेसलाई कुनै पनि देशले सङ्कुचन गर्न नहुने र देश, समाज तथा जनताको चौतर्फी विकासका लागि पूर्ण प्रेस स्वतन्त्रतालाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो । प्रेस सङ्कुचनमा परे लोकतन्त्र धरापमा पर्ने र लोकतन्त्र धरापमा परे जनताले दुःख पाउने तथा विकासका सारा बाटा बन्द हुने उल्लेख गर्दै उहाँले देश र जनताका भलाइ र समुचित विकासका लागि देशमा पूर्ण स्वतन्त्रतासहितको प्रेसको विकल्प नरहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले नेपालमा तीनै तहका सरकारले प्रेसलाई सङ्कुचनमा पार्न खोजेको आरोप लगाउनुभयो । त्यस्तै सम्बोधनकै क्रममा प्रदेश नं २ का पत्रकार महासङ्घका अध्यक्ष दीपेन्द्र चौहानले नेपालमा प्रेस चौथो अङ्ग भएर पनि स्वतन्त्र नरहेको तथा सधैँ आफ्नो अस्तित्वकै लागि सरकारसँग लडाइ लडिरहेको बताउनुभयो । कूल रु ३६ लाख ५३ हजार लागतमा बनेको महासङ्घको प्रथम तल्लाको आज भएको सो उद्घाटन कार्यक्रम शाखाका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया