फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १६ साउन : जबर्जस्ती चोरी मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन् । सिन्धुपाल्चोकका २७ वर्षीय विजय तामाङ र २८ वर्षीय निकेश तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

फाइल फोटो

जबर्जस्ती चोरी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले २०७१ पुस २३ गते गरेको फैसला अनुसार दुबै जनालाई चार वर्ष एक महीना १५ दिन कैद तथा रु ४३ हजार जरिवाना गरेकामा उक्त सजाय बेरुजु रही उनीहरु फरार हुँदै आएका थिए । विसं २०७० मा प्रतिवादीले सिन्धुपाल्चोक देउरालीस्थित बाटोमा हिड्ने व्यक्तिलाई डर त्रासमा पारी जबर्जस्ती चोरी गरेका थिए ।

विजयलाई बुधबार भक्तपुर सूर्यविनायकबाट र निकेशलाई साउन ७ गते भक्तपुरबाट पक्राउ गरिएको ब्यूरोद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । भक्तपुर जिल्ला अदालतले दुबै प्रतिवादीलाई कैद भुक्तानका लागि डिल्लीबजार कारगार पठाएको ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया