फरार वडाध्यक्ष अदालत हाजिर, धरौटीमा रिहा

admin

परासी, १७ जेठ : लिखतसम्बन्धी कसुर (कीर्ते) गरेका अभियोगमा फरार रहेका नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका-५ का वडाध्यक्ष ओमप्रकाश गुप्ता धरौटीमा रिहा भएका छन् ।

गुप्ता फरार रहेको समाचार सार्वजनिक भएपछि उनी आफैँ अदालतमा हाजिर भएको नवलपरासी जिल्ला अदालतले जनाएको छ ।

अदालत हाजिर भएका वडाध्यक्ष गुप्तालाई जिल्ला न्यायाधीश हेमबहादुर सेनको इजलासले रु ६० हजार धरौटीमा छाड्ने आदेश दिएको अदालतका निमित्त स्रेस्तेदार तीर्थराज शर्माले जानकारी दिए ।

वडाध्यक्षसहित पाँच जनाविरुद्ध विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा कीर्ते गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा परेको थियो । सोही मुद्दामा तत्कालीन वडा सचिव गोविन्द कहार र कीर्ते कागज प्रयोग गर्ने रामग्राम-५ की रुक्शाना शेष पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल अभिलेख रजिष्ट्ररमा उल्लिखित विवाह मितिलाई केरमेट गरी फरक मिति बनाएर प्रतिलिपि जारी गरेको भन्दै वडासचिव र वडाध्यक्षसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा लिखतसम्बन्धी कसूरको मुद्दा दायर भएको थियो ।

रामग्राम-५ का सुबेदार शेष र रुक्शानाको विवाह दर्तामा कायम भएको मितिलाई प्रतिलिपि दिँदा केरमेट गरी मिति फरक पारिएको थियो ।

रुक्शानाका पति सुबेदारले सरकारी छाप दस्तखत किर्ते गरिदिने कार्यमा संलग्न भनिएका वडाध्यक्ष गुप्ता, तत्कालीन वडा सचिव कहारसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

उक्त कार्यमा आफ्नै श्रीमती रुक्शाना, वडाध्यक्ष गुप्ता, वडा सचिव कहार, तत्कालीन वडा सचिव नन्दलाल कहार, कार्यालय सहयोगी अमरलाल कहार गरी पाँच जना संलग्न रहेको भनी विपक्षी बनाइएको थियो ।

प्रतिवादीमध्ये नन्दलाल पनि रु ६० हजार धरौटीमा रिहा भएका थिए । कार्यालय सहयोगी अमरलालको केही दिन अगाडि मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया