फिजी चुनाव : बेनीमारामाको दललाई झिनो बहुमत

मनिषा थापा

सुभा, फिजी, २ मङ्सिर (रासस/एएफपी) : फिजीका प्रधानमन्त्री फ्रान्क बेनीमारामाको फिजीफस्र्ट पार्टीलाई संसदमा झिनो बहुमत प्राप्त भएको छ ।

फिजीको निर्वाचन आयोगका अनुसार फिजीफस्र्ट पार्टीले संसदमा तीन सिट बढी स्थान जितेको छ । फिजीमा चार दिनअघि संसदको निर्वाचन भएको थियो ।

बैनीमारामा सन् २००६ देखि फिजीको प्रधानमन्त्री हुनुहुन्छ । हाल न्यूजील्यान्डमा रहेका बैनिमारामाले एक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै पुनः बहुमत प्राप्त गरी जनताको सेवा गर्ने मौका पाएकामा मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ ।

फिजीफस्र्ट पार्टीले चुनावमा ५०.०२ प्रतिशत मत प्राप्त गरेको थियो । उक्त मतका आधारमा फिजीफस्र्ट पार्टीले २७ स्थान जितेको छ । पूर्व प्रधानमन्त्री सिटीवेनी राबुकाको नेतृत्वमा रहेको मुख्य विपक्षी दल सोडेल्पा पार्टीले ३९.८ प्रतिशत मत प्राप्त गरेको छ । साथै, नेसनल फेडेरेसन पार्टीले ७.३८ प्रतिशत मत पाएको छ । ५१ कूल स्थान रहेको फिजीको संसदमा विपक्षी दलले २४ स्थान पाएका छन् ।

यसअघि सन् २०१४ मा भएको संसदीय चुनावमा फिजीफस्र्ट पार्टीले ५९.१७ प्रतिशत मत प्राप्त गरेको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले यस पटकको चुनाव विगतको तुलनामा बढी स्वच्छ र पारदर्शी भएको बताएका छन् ।

सन् २००६ मा रक्तपातविहीन विद्रोह गरी सत्तासिन हुनुभएका बैनीमारामाले पहिलोपटक सन् २०१४ मा चुनाव गराउनुभएको थियो । विगतमा सैनिक सेवाबाट राजनीतिमा प्रवेश गरेपनि उहाँले पछिल्ला वर्षहरुमा फिजीको राजनीतिलाई प्रजातान्त्रिकीकरण गर्नुभएको छ ।

प्रतिक्रिया