फिल्मी शैलीमा युवती अपहरण गर्ने तीन पक्राउ

admin

सिरहा, असोज २४ : फिल्मी शैलीमा १६ वर्षीया युवतीलाई अपहरण गर्ने तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा सिरहा नगरपालिका–९ का २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र २२ वर्षीय नथुनी भन्ने चतुरानन्द यादव रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य दुई जना आरोपित अझै फरार छन्।

५ जनाको समूहमा रहेका अपहरणकारीले ती युवतीलाई धनगढीमाई नगरपालिका–९ मुसहर्नियाबाट अपहरण गरेका थिए। उनलाई भारतीय नम्बर प्लेटको बीआर ३२ पी ४२६२ नम्बरको स्कोर्पियोमा राखेर सिरहा सदरमुकामतर्फ ल्याएका थिए। सिरहा–९ स्थित गुलरिया टोल जाने बाटोमा स्कोर्पियो नालामा फसेपछि युवती जसोतसो भागेर प्रहरीको सम्पर्कमा आएको एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। घटनाबारे थाहा पाएको २ घण्टाभित्रै आरोपित मध्ये ३ जनालाई पक्राउ गरिएको उनले बताए।

अपहरणकारीले प्रयोग गरेको सवारीसाधन खानतलासी गर्दा ८ राउन्ड गोली र ३ सय थान लागुऔषध नाइट्रोभेट ट्याब्लेट फेला परेको एसपी चतुर्वेदीले बताए। पीडितको जाहेरीका आधारमा पक्राउ परेकाहरूमाथि जबर्जस्ती करणी उद्योग, हातहतियार र लागुऔषध मुद्दा चलाइने उनले बताए। पक्राउ परेका परेका गणेश यादव ०७३ सालमा ज्यान मार्ने मुद्दामा ८ महिना जेल बसेर छुटेका व्यक्ति भएको प्रहरी रेकर्डले देखाएको छ।

यसरी परिन् अपहरणमा युवती
मंगलबार दिउँसो ४ बजे उदयपुरबाट मेला हेर्न ती युवती लहान आएकी थिइन्। राति ८ बजेसम्म साथीहरूसँगै उनले दुर्गा मन्दिरमा मेला हेरिन्। त्यहाँ उनीहरूले साँस्कृतिक कार्यक्रम हेर्ने योजना बनाए। समूहमा रहेका उनीहरू लक्ष्मीपुर पतारी गाउँपालिकास्थित पतारी पोखरी पुगे।

मंगलबार राति (बुधबार बिहान) २ बजे उनीहरू त्यहाँबाट साँस्कृतिक कार्यक्रम हेरेर फर्के। धनगढी बजारमा उनीहरू पश्चिमतिर मोडिए। उनीहरूलाई एउटा स्कोर्पियोले पछ्याइरहेको थियो। करिब एक किलोमिटर पर मुसहर्निया चोकमा पुगेपछि पछाडिबाट आएको स्कोर्पियोले उनीहरूको बाटो छेक्यो। सुदीप चौधरी र समीर चौधरीलाई कुटपिट गर्दै अपहरणकारीले युवतीलाई स्कोर्पियोमा राखे। अपहरणकारीले युवायुवतीहरूलाई आफू प्रहरीको मान्छे भन्दै थर्काउँदै थिए।

गाडीमा आफूसँग अभद्र व्यवहार गरेको युवतीले प्रहरीसमक्ष बताएकी छिन्। आफूलाई ती अपहरणकारीहरूले जबर्जस्ती करणी गरेपछि हत्या गर्ने योजना बनाएको युवतीले प्रहरीलाई बयान दिएकी छन्। सिरहा नगरपालिका–९ स्थित गुलरिया गाउँ जाने क्रममा गाडी नालीमा फस्यो। युवतीले शौच गर्ने भनिन्। अपहरणकारीले उनलाई अनुमति दिए। गाडीबाट निस्केर शौचमा गएकी उनी भागिन्। गाउँलेले प्रहरीलाई खबर गरे।

प्रहरी घटनास्थलमा पुग्यो। अपहरणकारीहरू फरार भइसकेका थिए। प्रहरीले नालीमा फसेको गाडी लिन आउनेको प्रतीक्षा गरे। धान खेतमा लुकेर बसे। बिहान मोटरसाइकलमा दुई जना युवा ओहोरदोहोर गर्दै थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिए। उनीहरूले आफूलाई गाडी मालिकले पठाएको बताए। प्रहरीले गाडी मालिकलाई नियन्त्रणमा लियो। मालिकले भाडामा गाडी दिएको व्यक्तिकहाँ पुर्‍याए। अन्ततः युवती अपहरण गर्ने आरोपित तीन जना पक्राउ परेको एसपी चतुर्वेदीले बताए।

प्रतिक्रिया