फिल्म २.० ले पहिलो दिन नै बक्स अफिसमा धमाका मच्चाउदै

रिता घिसिंग

एजेन्सी : सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म २.० ले पहिलो दिन नै बक्स अफिसमा धमाका मच्चाउन सफल भएको छ । फिल्मको पहिलो दिनको कमाइ यति धेरै छ कि यो फिल्मले कैयौं रेकर्ड ध्वस्त पार्ने निश्चित छ । दक्षिण भारतमा त हलमा छिर्ने ठाउँसम्म नभएको भारतीय मिडियाले लेखेका छन् । यसका साथै यसको उत्तर भारतमा पनि निकै राम्रो प्रभाव देखिएको छ ।

दक्षिणमा ९५ प्रतिशत स्क्रिनमा २.० को कब्जा छ । अन्य फिल्मले ५ प्रतिशत मात्र स्क्रिन पाएका छन् । उत्तरमा पनि फिल्मले कूल स्क्रिनको ४० प्रतिशत हिस्सा कब्जा गरेको छ । ठूलो बजेटमा बनेको २.० को तुलना ब्लकबस्टर फिल्म बाहुबलीसँग गरिएको छ । अक्षय कुमारका फ्यानले उनको नयाँ लुक्स हेर्न बेताब छन् ।

फिल्मको पहिलो दिनको दर्शकको चाप हेर्दा फिल्मले पहिलो दिन भारतमा ८० करोड कमाउने अनुमान गरिएको छ । अहिलेसम्म पहिलो दिन भारतमा मात्र ५२ करोड सबैभन्दा धेरै ओपनिङ हो र यो ओपनिङ ठग्स अफ हिन्दोस्तानले गरेको थियो । अहिले भने २.० ले कैयौं ठूला फिल्मको रेकर्ड तोड्ने अनुमान गरिएको छ । फिल्मको विश्वव्यापी कमाइ पहिलो दिनमै सय करोडभन्दा माथि पुग्ने अनुमान छ । अब फिल्मले बाहुबलीको विश्वव्यापी ओपनिङको रेकर्ड तोड्न सक्छ कि सक्दैन भन्ने चासोको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू