बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २२ मङ्सिर: नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि १-० को जित दर्ता गर्दै स्वर्ण भिडन्त तय गर्यो ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा सुनिलले पहिलो हाफको सुरुवाती समयमा नै कप्तान सुजल श्रेष्ठको पासमा दोस्रो बार च्याप्दै गोल गरेका थिए । नेपालले खेलको शुरुवात देखि नै बंगलादेशलाई दवावमा राखेको थियो । उक्त गोल नै निर्णायक रहेपछि नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपाल यस नतिजासँगै लिग चरणको विजेता बन्यो । लिगमा नेपालले ४ खेलमा १० अंक जोड्यो भने दोस्रो स्थानमा रहेको भुटानले ९ अंक हासिल गर्यो । बंगलादेश ४ अंकसहित कास्य पदकमा सिमित भयो । श्रीलंका र माल्दिभ्स २-२ अंकसाथ पुछारमा रहे ।

नेपालले अब मंगलबार हुने फाइनलमा भुटानको सामना गर्नेछ । समूह चरणको खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो । नेपाल साग फुटबलको साविक विजेता पनि हो ।

प्रतिक्रिया