बंगलादेश अमेरिकाको इन्डो-प्यासिफिक सुरक्षा रणनीतिमा सहभागी नहुने

admin

एजेन्सी, १९ फागुन : बंगलादेशले अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक स्ट्राटेजी अन्तर्गत कुनै पनि किसिमको सुरक्षा सहकार्यमा संलग्न नहुने बताएको छ । बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनले पत्रकारसँग कुरा गर्दै सरकारको धारणा सार्वजनिक गरेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

अमेरिकी अधिकारीले आफूलाई सम्पर्क गरी भारत-प्रशान्त क्षेत्रमा कडा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने योजनालाई अघि सार्ने प्रस्ताव राखेको भन्दै मन्त्री मोमेनले अमेरिकाको प्रस्ताव आफूले खारेज गरेको बताए । उनले आफूहरु सुरक्षित रहेकोले बंगलादेश सरकारले सुरक्षा नीतिका बारेमा भन्दा आर्थिक विकास र पूर्वाधार विकासमा प्राथमिकता दिइरहेको बताएको सिन्ह्वाले जनाएको छ ।

उनले बंगलादेशको अग्रणी निजी समाचार एजेन्सी यूएनबीसँग सोमबार भने, ‘हामीले भनेका थियौं कि हामी यसको बारेमा सोच्ने पनि छैनौं । हामी सुरक्षित छौं । बरु हामी आर्थिक विकास र पूर्वाधार विकासमा रुचि राख्छौं ।’

बंगलादेशले अब आफ्नै स्रोतलाई परिचालन गरी पूर्वाधार विकासलाई बढी महत्व दिने उनको भनाइ छ । ‘हामी पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्दैछौं र हाम्रा जनतालाई उत्कृष्ट जीवन प्रणाली विकासका लागि कार्यक्रम दिनेछौं,’ मोमेनले भने ।

प्रतिक्रिया