बङ्गबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

admin

काठमाडौँ, २१ असोज: बङ्गलादेशमा जारी पाँचौँ संस्करणको बङ्गबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको नेपाली राष्ट्रिय फुटबल टोली आज अपराह्न स्वदेश फर्किएको छ । बङ्गबन्धु गोल्डकपको साबिक विजेतासमेत रहेको नेपाल यस संस्करणमा समूह चरणको दुवै खेलमा पराजित हुँदै स्वदेश फर्किएको हो । नेपाल पहिलो खेलमा ताजकिस्तानसँग २–० तथा दोस्रो खेलमा प्यालेस्टाइनसँग १–० गोल अन्तरले पराजित हुँदै समूह चराबाटै बाहिरिएको हो ।

लिग पुनः शुरु
यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको ‘ए’ डिभिजन लिग फुटबल यही असोज २४ गतेदेखि हुने भएको छ । लिग निर्देशक सञ्जीव मिश्रका अनुसार २४ गते लिग शुरु हुने र २७ गतेदेखि पुनः एक महीनाका लागि लिग स्थगित हुनेछ ।

एन्फाले २४, २५ र २६ गतेभित्र पहिलो चरणको खेल सकाउने लक्ष्य लिएको छ । त्यसपछि दशैँ–तिहारको विदामा लिग स्थगित हुनेछ । “पहिलो राउण्डको खेल सकिएलगत्तै २७ गतेदेखि लिग स्थगित हुन्छ । दशैँ, तिहार, छठलगायत महत्वपूर्ण चाडबाड सकिएपछि मङ्सिरदेखि लिगको दोस्रो चरणका खेल शुरु हुनेछन्,” निर्देशक मिश्रले भन्नुभयो । पहिलो चरणका मच्छिन्द्र र च्यासल, फ्रेण्डस् क्लब र थ्रीस्टार, जावलाखेल युथ क्लब र नेपाल पुलिस, हिमालयन शेर्पा र एपिएफ तथा ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दी गरी पाँच खेल बाँकी छन् । तीन दिनमा पाँच खेल खेलाउँदा दुई दिन दुई–दुई खेल हुनेछ भने एक दिन एउटा खेल हुनेछ ।

उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मीले अङ्क बाँडेका थिए भने दोस्रो खेल सरस्वती युथ क्लबलाई पराजित गर्दै सङ्कटा क्लब विजयी भएको थियो । लिगका खेल तेह्र चरणसम्म खेलाइनेछ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख र तेस्रोले रु २५ लाख पुरस्कार पाउने छ ।

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । ‘फेयर प्ले’ टिमले रु एक लाख, प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा ‘म्यान अफ दी म्याच’ खेलाडीलाई रु १० हजार पुरस्कार दिनेछ । यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो । लिगमा ‘ए’ डिभिजनका १३ क्लब सहभागी छन् ।
-रासस

प्रतिक्रिया